बाबुबाजेले स्थापना गरेका उद्योग, कलकारखाना वा व्यवसाय दोस्रो-तेस्रो पुस्ताले सम्हाल्ने क्रम बढ्दो छ। अझ देश र विदेशमा ज्ञान आर्जन गरेर फर्किएका नयाँ पुस्ताले व्यवसायलाई नयाँ सोचसाथ अगाडि बढाएर सफल भएको पनि देखिन्छ।
त्यस्तै सफल व्यवसायी हुन् करण चौधरी।
अध्ययनका लागि अमेरिका गएर फर्किएपछि करण आफ्ना बुबा अरूण चौधरीको व्यवसाय हाँकिरहेका छन्। हार्वड विश्वविद्यालयमा स्नातकोत्तर सकेर फर्किएका उनी सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हुन्। एक दशक अगाडिदेखि उनी कम्पनीमा आवद्ध छन्।
'म सिधै बुवाले राखिदिएको कुर्सीमा बसेको भने होइन। आफैं संघर्ष गर्दागर्दै यहाँसम्म आएको हुँ,' उनले सेतोपाटीसँग भने।
सुरूमा उनले बुवाकै गाडी सर्भिस सेन्टरमा मेकानिकका रूपमा काम गरेका थिए।
'सानोदेखि नै मेरो गाडीमा रूचि थियो। करिब १४ वर्षअगाडि मेकानिक कामबाट थालेर म यो क्षेत्रमा प्रवेश गरेको हुँ,' उनले सम्झिए।
उनी पहिल्यैदेखि वर्कसपमा गइरहन्थे। त्यहाँ अरूले काम गरेको देखेर लोभिन्थे। त्यही बेला कम्पनीले अरू के थप्न सकिन्छ भनेर सोचिरहेको थियो। सुजुकीका पाटपूर्जा व्यापार गर्ने सोच आयो। यसनिम्ति करण आफैं भारत जाने भए।
'मलाई सक्छु जस्तो लाग्यो। त्यसपछि सामान लिएर आयौं। त्योबेला मासिक बीस हजारको बिक्री हुन थाल्यो,' उनी भन्छन्, 'विस्तारै व्यापार बढेर मासिक आठ लाख पुग्न थाल्यो। अनि झन् उत्साह थपियो।'
त्यसपछि सामान अर्डर लिने तथा बजार हेर्ने सबै काम उनी आफैं गर्न थाले। यो अनुभवले विस्तारै कम्पनी हाँक्ने हिम्मत पनि जुट्यो।
'अब सक्छु भन्ने भएपछि म यो स्थानमा आइपुगेको हुँ। आइनपुगेको भए पनि मेकानिक त हुँ, गाडी बनाउन सकिहाल्थेँ नि भन्ने लाग्छ,' उनले सुनाए।
अटोमोबाइल्ससँगै वित्तीय क्षेत्र हुँदै करणले शिक्षा, होटल/हस्पिटालिटी, घरजग्गा, हाइड्रोपावर, उत्पादन लगायत धेरै क्षेत्र सम्हाल्दै आएका छन्। आफूले सबै तहका कर्मचारीको दुःख भोगिसकेकाले पनि व्यवसाय सम्हाल्न थप सहज भएको उनी बताउँछन्।
'सिधै निर्देशकको कुर्सीमा बसेको भए यो क्षेत्र के हो भनेर बुझ्नै समय लाग्थ्यो होला। आफैं अनुभव गर्दै आएँ। मलाई थप सजिलो भयो,' उनले भने।
कम्पनीको जिम्मेवारी सम्हालेदेखि नै मानव संसाधन व्यवस्थापनलाई विशेष ध्यान दिएर अगाडि बढेको उनको भनाइ छ। व्यवसाय सफल रूपमा अगाडि बढाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने मान्यता उनी राख्छन्। अहिले महामारीका बेला पनि सबै कर्मचारीलाई कोरोना खोप दिलाउन सरकारसँग अनुरोध र पहल गरिरहेका छन्। अधिकांश कर्मचारीले खोप पाए पनि केहीले पाउन नसकेको उनको गुनासो छ।
त्यस्तै नयाँ सोचका साथ व्यवसाय अगाडि बढाउने प्रयास गरिरहेको अवस्थामा कोभिडकै कारण भनेजस्तो भएन। तर अरूलाई हेरेर पनि आफूहरूले चित्त बुझाएको उनी बताउँछन्।
'धेरै कम्पनी बन्द भए, हामीले त्यो स्थिति आउन दिएनौं। यसमै सन्तुष्ट छौं,' उनले भने।
जटिल अवस्थामा पनि कम्पनी बन्द हुने अवस्था आउन नदिन सक्दो मेहनत गरेको उनी बताउँछन्। कोरोनाबाट थलिएका उद्योग-व्यवसायको पुनर्स्थापनाका लागि सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए।
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्प सम्हालिरहेका उनी यहाँको अटोमोबाइल बजारसँग सन्तुष्ट छैनन्। उनका अनुसार छिमेकी मुलुक भारतको तुलनामा हामीकहाँ सवारीसाधनको मूल्य पाँच गुणासम्म बढी पर्छ। राज्यले लगाएको करका कारण उपभोक्ता मारमा छन्।
करण भन्छन्, 'त्यसमाथि डाउनपेमेन्ट र फाइनान्सिङको पाटो पनि निकै झन्झटिलो छ। सहरी मानिसका निम्ति सवारी अत्यावश्यक भए पनि सरकारले विलासिता साधन मानिरहँदा उपभोक्ता मारमा परेका छन्।'
उनका अनुसार अटोमोबाइल क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा १६ प्रतिशत योगदान पुर्याएको छ। सरकारको आयको प्रमुख स्रोत यो क्षेत्रले अर्थतन्त्र चलायमान राख्न पनि महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्, 'एकैचोटि कर घटाउन गाह्रो होला। तर विस्तारै यसलाई व्यवस्थित बनाउनु पर्छ।'
अटो बजार सरकारले व्यवस्थित गर्ने हो भने यो क्षेत्रमा लगानी थप्ने योजना छ उनको। सुजुकी गाडी यहीँ 'एसेम्बल' गर्न उद्योग सञ्चालन गर्ने सोच उनले बनाएका छन्। यसनिम्ति सिजी अटोमोटिभ इन्डस्ट्रिज नामक उद्योग दर्ता गरिसके जुन बारा जिल्लामा स्थापना हुनेछ। उद्योग स्थापनाका लागि एक अर्ब ३१ करोड लागत अनुमान गरिए पनि सरकारसँग बसेर छलफल भएपछि मात्रै सोहीअनुसार लगानी गर्ने करण बताउँछन्।
'एसेम्ब्लिङ सञ्चालनमा ल्याउनु सानोतिनो कुरा होइन। यसमा सरकारको सहयोग, आड र भरोसाको खाँचो हुन्छ,' उनी भन्छन्, 'यो क्षेत्रका लागि सहज नीति लागू गरेपछि सोहीअनुसार अगाडि बढ्छौं।'
व्यवसायिक अनुभवबाट निखारिँदै गएका करणले यसपालि अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनीसँगै हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले पनि नाडा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसके।
हाल उपाध्यक्ष रहेका करण नाडामा युवा नेतृत्वको खाँचो देखेर उम्मेदवारी घोषणा गरेको बताउँछन्।
'युवाले गर्ने काम, सोच अलि भिन्न हुन्छ। मेरो व्यवसायमा जतिसक्दो राम्रो गर्न खोजेको छु। राम्रो भएको पनि छ,' उनले भने, 'नाडामा पनि सक्दो काम गर्छु भनेर अगाडि बढेको हुँ।'
तर घराना व्यवसायीले जितेपछि साना अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन नहुने हो कि भन्ने प्रश्न पनि उठिरहेका छन्। तर आफू नेतृत्वमा आएपछि नाडा के हो भनेर चिनाउन र साना-ठूला सबै अटोमोबाइल व्यवसायीको हकहितमा काम गर्ने उनी बताउँछन्।
'म ठूलो घरानाको व्यवसायी हुँला, तर सुरूआत मेकानिकबाट गरेको हुँ,' उनी भन्छन्, 'मैले गाडी पेन्टदेखि पाटपूर्जा फिट गर्ने, बेच्ने सबै काम गरेको छु। समग्रमा अटोमोबाइल क्षेत्रमा हुने सबै काम गरिसकेँ। यो अनुभवका कारण म सबैका समस्या समेटेर लैजान सक्छु।'
अहिले उपाध्यक्षमा हुँदा खोइ काम गरेको भन्ने प्रश्न पनि आउँछन्। तर नेतृत्व गरेर जाँदा र नगरी जाँदा फरक हुने उनी बताउँछन्। त्यसैले अटोमोबाइल क्षेत्रमा काम गर्ने व्यवसायीको सल्लाह-सुझाव लिएरै अगाडि बढेको उनले बताए।
नाडा अध्यक्ष जितेमा सबभन्दा पहिले सम्बन्धित सबैलाई खोप दिलाउन पहल गर्नु उनको उद्देश्य हो। यसनिम्ति उनी अहिले नै काम गरिरहेका छन्। खोप कसले पायो, पाएन भनेर सूची बनाउँदै छन् र त्यसकै आधारमा खोप दिलाउन सहज हुने अपेक्षा उनको छ।
अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनको जोड छ। त्यस्तै सरकार र व्यवसायीबीच समन्वय गरी व्यवसाय विस्तारको वातावरण निर्माण गर्ने योजना उनले बनाएका छन्।
कुनै पनि काममा सफल हुन नयाँ पुस्तालाई उनी सुझाव पनि दिन्छन्, 'मनैदेखि चाहेको काममा सफल हुन परिश्रम गर्नुपर्छ। थालेको कामबाट कहिल्यै पछि हटिएन भने आफूले सोचेजस्तो हुँदै जान्छ।'