सिन्धुली, भिमानकी पवित्रा फुँयाल तीन पांग्रे अटो चलाउँछिन्। झन्डै पाँच वर्षअघि उनले भिमानमा अटो गुडाउन थालेकी हुन्।
त्यो बेला सिन्धुली बजारमा अटोको चर्चा चुलिँदो थियो। कमलामाई नगरपालिकामा पर्ने भिमानमा भने सार्वजनिक गाडी मात्रै चल्थे। सिन्धुलीमाडीदेखि भिमान झन्डै १९ किलोमिटर दुरीमा पर्छ।
'सिन्धुली जाँदा त्यहाँ थुप्रैले अटो चलाएर राम्रो आम्दानी गरिरहेको देखेँ,' २८ वर्षीया पवित्राले सेतोपाटीसँग भनिन्, 'सार्वजनिक यातायातभन्दा अटोले मानिसको आवतजावतमा सहज पारेको थियो। भिमानमा भने त्यो बेलासम्म अटो भित्रिएकै थिएन।'
भिमानमा पनि अटो चले सजिलो र छिटो हुन्छ भन्ने पवित्राले सोचिन्। अब कहिले आउँछ भनेर पर्खेर बस्नुभन्दा उनी आफैंले किन्ने सोचिन्।
अटो चढ्ने यात्रु नपाए वा नभए बरू निजी प्रयोजनकै लागि चलाउने उनले ठानिन्। अनि २०७३ साल असोजमा पवित्राले जनकपुरबाट अटो किनेर ल्याइन्। उनी भिमानमै अटो भित्र्याउने पहिलो व्यक्ति बनिन्।
त्यो बेला अटोको मूल्य पाँच लाख रूपैयाँ थियो। पवित्राका अनुसार दुई लाख तिरेर बाँकी किस्तामा किन्न सकिन्थ्यो। उनले दुई लाख छिमेक र आफन्तबाट ऋण लिइन्। त्यो पैसा अटो चलाएरै झन्डै डेढ वर्षमा चुक्ता गरिन्।
पवित्राले अटो चलाएको छोटो समयमै यो आम्दानीको राम्रो स्रोत हुने बुझेकी छन्। भन्छिन्, 'अटो चलाउन थालेदेखि कोहीसँग सापटी लिनुपरेको छैन। बरू बचत गर्छु। आर्थिक रूपमा आत्मनिर्भर भएकी छु।'
अचेल औसतमा मासिक ५० हजार रूपैयाँसम्म कमाइ गर्छिन् उनी। अहिले भिमानमा घर पनि बनाउँदै छिन्।
पवित्राका दुई सन्तान छन्, ११ वर्षीय छोरा र ९ वर्षीया छोरी। बिहान ९ बजे नै छोराछोरीलाई तयार पारेर विद्यालय पुर्याउँछिन्। अनि आफू काममा लाग्छिन्।
साँझ ४ बजेतिर छोराछोरीलाई लिन स्कुल पुग्छिन्, घर पुर्याउँछिन्। अनि फेरि काममा फर्किन्छिन्। बेलुकी ५-६ बजेसम्म अटो चलाउँछिन्। घर पुगेर घरायसी काम पनि भ्याउँछिन्।
'श्रीमान प्रायः बाहिरै बस्नुहुन्छ। त्यसैले पनि घर र काम सम्हाल्न अलि गाह्रो हुन्छ। तर यसैगरी त चल्ने हो,' उनी सन्तोक नै मान्छिन्।
पवित्राका श्रीमान वैदेशिक रोजगारमा आवद्ध छन्। कहिले खाडी मुलुक पुग्छन्, कहिले भारत। उनी यसलाई रहर नभइ बाध्यता बनेको बताउँछिन्। दुई सन्तान, कामबाहेक उनी जेठानको हेरविचार पनि गर्छिन्।
अहिले भिमानमा अटो भित्र्याउने पहिलो व्यक्ति भनेर चिनिने पवित्रालाई सुरूका दिनमा मान्छेले निरूत्साहित पनि गरेका थिए।
धेरैले भन्थे- साइकल समेत चलाउन नजान्ने अटो कसरी चलाउँछौ?
हुन पनि पवित्राले अटो किन्दासम्म उनलाई चलाउन आउँथेन। अटो बाइकचलाए जस्तै हुन्छ। तर यसका लागि बेग्लै लाइसेन्स लिनुपर्छ। पवित्राले अटो किनेको दुई महिनापछि बल्ल लाइसेन्स निकालेकी थिइन्।
'जनकपुरदेखि यहाँसम्म अटो ड्राइभर दाइले नै ल्याइदिनु भयो। आफूले चलाउन नजान्दा केही दिन त बेकार किनेछु भन्ने समेत भयो,' अटो सिक्दाको क्षण सम्झिँदै भनिन्, 'तर हप्तादिनमै सिक्न सकिने रहेछ। विस्तारै चलाउँदै बानी बसाल्दै गएँ। अहिले त जस्तोसुकै बाटोमा पनि चलाउन सक्छु।'
पवित्राले अटो चलाउन सुरू गर्दा बिपी राजमार्ग पूरै कालोपत्रे भइसकेको थियो। उता मदन भण्डारी राजमार्ग भने अलि कच्ची थियो। अहिले त उनले चलाउने रूट पूरै कालोपत्रे छ। त्यसैले अटो चलाउन सजिलो भएको उनी बताउँछिन्।
पवित्रालाई पहिल्यैदेखि व्यवसायिक काम गर्ने हुटहुटी थियो। २०६७ सालमा एसएलसी सकेलगत्तै बिहे भएपछि पढाइलाई निरन्तरता दिन सकिनन्। घर-गृहिणीको काम सम्हालेर मात्र बस्ने मन थिएन। काम खोज्दै केही संस्थामा अन्तर्वार्ता समेत दिइन्। तर भनेजस्तो काम पाइनन्।
'जागिर खाने रहर भए पनि पाउनै मुश्किल भयो। त्यसैले बरू आफ्नै व्यवसाय गर्ने सोचेर अटो चलाउन थालेँ। घर-व्यवहार सम्हाल्न पहिलेको दुःख हेरी अहिले धेरै सजिलो छ,' उनले भनिन्।
अटो चलाउन थालेपछि पनि उनीमाथि शंका गर्नेको कमी थिएन- छोरी मान्छे भएर पनि तिमीले आँट्यौ तर यहाँ अटो चल्ने हो कि होइन!
तर आफू र अरूले सोचेभन्दा पनि निकै राम्रो भएको उनी मान्छिन्। अहिले भिमानमा झन्डै ५० जना अटो चालक छन्। त्यसमध्ये पवित्रासहित चार जना महिला छन्।
पवित्रा हरेक ठाउँका महिलाले आर्थिक उपार्जन हुने काम गर्न जोड दिन्छिन्। भन्छिन्, 'काम गर्छु भन्ने संकल्प लिए महिलालाई दुई-चार पैसा कमाउन मुश्किल छैन। छोरी मान्छेले घर मात्रै सम्हाल्नुपर्छ भन्ने हुँदैन।'