उद्योग स्थापनाका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधारहरू जमिन, औद्योगिक भवन, सडक, विद्युत, पानी, ढल तथा अन्य सेवा तथा सुविधाहरू एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले सरकारले औद्योगिक क्षेत्रको अवधारणा ल्याएको हो।
हाल १० औद्योगिक क्षेत्र सञ्चालनमा छन्।
यी औद्योगिक क्षेत्रले कुल ६ हजार १६ रोपनी जग्गा ओगटेको छ। जसमध्ये ४ हजार एक सय ८२ रापनी जग्गा भाडामा दिइएको छ।
त्यस्तै, एक हजार २ सय २ रोपनी जग्गा सडक, ढल, ग्रिनवेल्ट तथा सेवामूलक पूर्वाधारहरू र प्रशासकिय कार्यालयले ओगटेको छ।
औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक र गैर उत्पादनमूलक उद्योग सञ्चालनमा छन्।
बालाजु
यो २०१९ सालमा स्थापना भएको सरकारको पहिलो औद्योगिक क्षेत्र हो।
वि.स २०१६ सालमा यस औद्योगिक क्षेत्रको शिलान्यास गरी नेपाल सरकार र अमेरिकी सरकारको सहयोगमा औद्योगिक क्षेत्र स्थापनाको सुरूवात गरिएको थियो।
क्षेत्रले ओगटेको कुल ६ सय ७० जमिनमध्ये ५ सय ४२ रोपनी जग्गा भाडामा दिइएको छ।
यहाँ कुल एक सय ४१ वटा उद्योग छन्। ती मध्ये एक सय २९ उद्योग सञ्चालनमा छन् भने तीन उद्योग बन्द अवस्थामा छन्। त्यस्तै ९ उद्योग निर्माणाधीन अवस्थामा छन्।
पाटन
यो २०२० सालमा स्थापना भएको उद्योग हो। नेपाल र भारत सरकारको सहयोगमा स्थापना भएको यस क्षेत्रले कुल दुई सय ९३ रोपनी जग्गा ओगटेको छ।
त्यसमध्ये दुई सय १९ रोपनी जग्गा भाडामा दिइएको छ।
हाल पाटन औद्योगिक क्षेत्रमा एक सय १७ उद्योग छन्। तीमध्ये एक सय १२ उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग बन्द अवस्थामा छन्।
हेटौंडा
यो औद्योगिक क्षेत्र २०२० सालमा स्थापना भएको हो। नेपाल र अमेरिकी सरकारको सहयोगमा स्थापना भएको यो क्षेत्रले कुल तीन हजार दुई सय २८ रोपनी जग्गा ओगटेको छ।
त्यसमध्ये दुई हजार एक सय ७८ रोपनी जग्गा औद्योगिक प्रयोजनका लागि भाडामा दिइएको छ।
यहाँ एक सय ३३ उद्योग छन्। जसमध्ये एक सय १० उद्योग सञ्चालनमा छन् भने ६ उद्योग बन्द अवस्थामा छ।
त्यस्तै १७ उद्योग निर्माणाधीन अवस्थामा छन्।
धरान
यो २०२९ सालमा नेपाल र भारत सरकारको सहयोगमा स्थापना भएको हो। यसले दुई सय दुई रोपनी क्षेत्रफल ओगटेको छ।
स्थापना भएका ३७ उद्योगमध्ये हाल २९ उद्योग सञ्चालनमा छन्। तीमध्ये तीन उद्योग बन्द छन् भने पाँच उद्योग निर्माणाधीन अवस्थामा छन्।
नेपालगञ्ज
यो औद्योगिक क्षेत्र २०३० सालमा स्थापना भएको हो। नेपाल र भारत सरकारको सहयोगमा स्थापना भएको यो क्षेत्रले कुल दुई सय ३३ रोपनी जग्गा ओगटेको छ।
त्यसमध्ये एक सय ८४ रोपनी जग्गा औद्योगिक प्रयोजनका लागि भाडामा दिइएको छ।
यहाँ एक सय ३७ वटा उद्योग छन्। जसमध्ये एक सय ३४ उद्योग सञ्चालनमा छ भने एक उद्योग बन्द अवस्थामा छ। त्यस्तै, दुई उद्योग निर्माणाधीन अवस्थामा छन्।
पोखरा
यो २०३१ सालमा नेपाल सरकारको लगानीमा स्थापना भएको हो। यसले पाँच सय एक रोपनी जग्गा ओगटेको छ।
जसमध्ये तीन सय ८५ रोपनी जग्गा भाडामा दिएको छ।
स्थापना भएका ७७ उद्योगमध्ये हाल ७६ उद्योग सञ्चालनमा छन्। तीमध्ये एक उद्योग बन्द छन् भने पाँच उद्योग निर्माणाधीन अवस्थामा छन्।
बुटवल
यो औद्योगिक क्षेत्र २०३२ सालमा स्थापना भएको हो। नेपाल सरकारको लगानी भएको यो क्षेत्रले कुल चार सय ३४ रोपनी जग्गा ओगटेको छ।
त्यसमध्ये तीन सय ७४ रोपनी जग्गा औद्योगिक प्रयोजनका लागि भाडामा दिइएको छ।
यहाँ ७२ उद्योग छन्। जसमध्ये एक सय ६७ उद्योग सञ्चालनमा छ भने तीन उद्योग बन्द अवस्थामा छ। दुई वटा उद्योग निर्माणाधीन अवस्थामा छन्।
भक्तपुर
यो औद्योगिक क्षेत्र २०३६ सालमा स्थापना भएको हो। नेपाल र जर्मनी सरकारको लगानी भएको यो क्षेत्रले कुल ७१ रोपनी जग्गा ओगटेको छ।
त्यहाँको सबै जग्गा औद्योगिक प्रयोजनका लागि भाडामा दिइएको छ।
यहाँ ३७ वटा उद्योग छन्। जसमध्ये ३६ उद्योग सञ्चालनमा छ भने एक उद्योग बन्द अवस्थामा छ।
वीरेन्द्रनगर
यो औद्योगिक क्षेत्र २०३८ सालमा स्थापना भएको हो। नेपाल सरकारको लगानी र नेदरल्याण्ड सरकारको सहयोगमा स्थापना भएको हो।
यसले कुल ९० रोपनी जग्गा ओगटेको छ।
सबै जग्गा औद्योगिक प्रयोजनका लागि भाडामा दिइएको छ।
यहाँ २७ वटा उद्योग छन्। जसमध्ये २१ उद्योग सञ्चालनमा छ भने दुई उद्योग बन्द अवस्थामा छ। चार वटा उद्योग निर्माणाधीन अवस्थामा छन्।
गजेन्द्रनारायण
यो औद्योगिक क्षेत्र २०४४ सालमा स्थापना भएको हो। नेपाल सरकारको लगानी र भारत सरकारको सहयोगमा यो औद्योगिक क्षेत्रको स्थापना भएको हो।
यसले कुल दुई सय ९४ रोपनी जग्गा ओगटेको छ।
त्यसमध्ये दुई सय ५८ रोपनी जग्गा औद्योगिक प्रयोजनका लागि भाडामा दिइएको छ।
यहाँ ९ वटा उद्योग छन्। जसमध्ये ४ उद्योग सञ्चालनमा छ भने ४ उद्योग बन्द अवस्थामा छ। एउटा वटा उद्योग निर्माणाधीन अवस्थामा छ।
उत्पादनमूलक उद्योगको भाडादरः
औद्योगिक क्षेत्रको नाम | भाडा(प्रति रोपनी/वार्षिक) | बढाइएको भाडा(प्रतिरोपनी/वार्षिक) |
बालाजु | १६५५७.७० | ८१००० |
पाटन | १०९७६.७५ | ६४८०० |
हेटौंडा | ८३३१.७५ | १६२०० |
धरान | ८३३१.७५ | १६२०० |
नेपालगञ्ज | ८३३१.७५ | १६२०० |
पोखरा | ८३३१.७५ | ५४००० |
बुटवल | ८३३१.७५ | १६२०० |
भक्तपुर | १०९७६.७५ | ५४००० |
विरेन्द्रनगर | ६६१२.५० | १०८०० |
गजेन्द्रनारायण | ६६१२.५० | १०८०० |
स्रोतः औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
यो पनि हेर्नुस् :उद्योगीको आरोप–सरकारले नियम विपरीत भाडा बढायो