सुनैना ठाकुर जनकपुरस्थित जानकी मन्दिर परिसरमा आर्ट ग्यालरी चलाउँछिन्। एक दिन उनलाई मधेस प्रदेशको अर्थ मन्त्रालयमा बोलाइयो।
मन्त्रालय पुगेपछि अर्थमन्त्री सुनिलकुमार यादव र सचिव रामकुमार महतोसँग भेट भयो।
मन्त्री र सचिवले सुनैनालाई एउटा 'अटैची’ बनाउन आग्रह गरे।
प्रस्ताव गरिएको अटैची सामान्य कामका लागि थिएन। अर्थ मन्त्रालयलाई वर्षभरको बजेटको किताब बोक्न चाहिएको थियो।
मन्त्रालयको प्रस्तावले सुनैना उत्साहित भइन्। तत्कालै काम स्वीकार गरिन्। तर उनीसँग समय ५ दिन मात्रै थियो।
यो अवधिमा उनले जुटको अटैची डिजाइन गरेर मिथिला कलाले सजाइन्। अटैचीको स्वरूप तयार पार्न मन्त्री, सचिव लगायत अर्थ मन्त्रालयका कर्मचारीहरूले पनि सुझाव दिए। उनले आफ्नो सीपको सक्दो उपयोग गरिन्। अन्ततः सुनैनाले चार दिन लगाएर बनाएको अटैची बोकेर आइतबार अपराह्न अर्थमन्त्री यादव प्रदेश सभा पुगे।
यस वर्ष सबै प्रदेशले प्रयोग गरेका बजेट झोलाभन्दा मधेस प्रदेशको विशेष थियो। झोलाले बजेटसँगै मधेसको पहिचान पनि बोकेको थियो।
अर्थ मन्त्रालयका सचिव महतोका अनुसार विगतमा बजेटका लागि हजारौं रूपैयाँ पर्ने ब्रिफकेस प्रयोग गरिन्थ्यो।
'हामीले नेपालमा बजेट प्रस्तुत गर्दा महँगा ब्रिफकेस बोक्ने गरिएको देख्दै आएकै हौं। कहिले छालाले बनेका त कहिले अरू नै खाले विदेशी झोला प्रयोग गर्ने अभ्यास थियो। मधेस प्रदेशमा पनि त्यस्तै थियो। यसपालि हामीले नयाँपन दिने प्रयास गर्यौं,’ सचिव महतोले भने।

झोलामार्फत् मिथिला कला पनि प्रवर्द्धन गरेको उनले बताए।
विगतमा जनकपुरमा घरघरमा मिथिला कला गरिन्थ्यो। विकासले गति लिँदै जाँदा यो संस्कृति लोप हुने खतरा बढेको उनी बताउँछन्। यसलाई फैलाउन प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने महसुस गरेर बजेटमा पनि मिथिला संस्कृति प्रवर्द्धनलाई प्राथमिकतामा राखेको सचिव महतोले बताए।
'पुर्खाबाट प्रयोग हुँदै आएको मिथिला कला मधेसको पहिचान हो। हामी बजेटको झोलामै मधेसको पहिचान दिन सक्छौं भनेर मन्त्रालयमा छलफल भयो। बुझ्दै जाँदा हाम्रै ठाउँमा अन्तर्राष्ट्रिय क्षेत्रमासमेत पहिचान बनाइरहनुभएकी कलाकार सुनैना ठाकुर हुनुहुँदो रहेछ। उहाँलाई बोलाएर कुरा गर्यौं। सुनैनाजी हामीले भनेजस्तो झोला बनाउन तयार हुनुभयो,’ सचिव महतोले भने, 'उहाँ बनाउँदै जानुभयो। हामीले आवयकता अनुसार सुझाव दियौं। अन्ततः गज्जबको अटैची तयार भयो।’
२५ वर्षदेखि मिथिला कलामा सक्रिय ४० वर्षीया सुनैनाले यो अवधिमा हजारौं सामग्रीमा आफ्नो कला भरेकी छन्। यस्तो अटैची भने उनले पहिलो पटक तयार पारेकी हुन्।
'मन्त्रीज्यू, सचिवज्यूहरूले पहिले हजारौं रूपैयाँमा ब्याग किनिन्थ्यो, यसपालि मिथिलाको पहिचान हुनेगरी गरौं न, नयाँ बजेट ल्याउँदा नयाँपन पनि देखिन्छ भन्नुभयो,' सुनैनाले भनिन्, 'समय कम थियो तैपनि मैले अटैची तयार पारेँ। बजेट प्रस्तुत गर्दा असाध्यै राम्रो देखियो। आफूले तयार पारेको सामग्रीले यति धेरै महत्व पाएको देख्दा असाध्यै खुसी छु।’
अटैचीमा जनकपुरधाममा भगवान रामले उचाल्ने क्रममा धनुष भाँचिएको, राम–सीता स्वयंवर भएको चित्र छ। माछा, हात्ती, रूखको चित्र पनि अटैचीमा अटेको छ।

'जनकपुरधाम सीताको जन्मभूमि हो। यहाँ भगवान रामले धनुष उठाउन खोज्दा भाँचिएको, त्यसपछि राम, सीताको स्वयंवर भएको इतिहास छ। त्यसैले यसलाई अटैचीमा कलात्मक ढंगले प्रस्तुत गर्न प्रयास गरेकी छु,' उनले भनिन्, 'अनि मैथिलीमा एउटा कहावत नै छ– माछा, पान, मखान मिथिलाको शान। मिथिला संस्कृतिमा माछालाई शुभको प्रतीक मानिन्छ। नयाँ बजेट शुभ होस् भनेर माछा राखेकी छु। हात्ती र रूखको चित्र पनि छ। सबैमा रातो रङ भरेकी छु।'
यो अटैचीको मूल्य २५ सय रूपैयाँमा परेको मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव महतोले जानकारी दिए।
सुनैनाले भने अटैची बिक्री गरेबापत पाएको २५ सय रूपैयाँभन्दा कैयौं बढी कमाइ भएको अनुभूति गरेको बताइन्।
'म मिथिला कलाकै लागि ५ वटा देशका धेरै सहर पुगेँ। तर उतै बसिनँ। पैसा चाहिएको भए त्यतै बस्थेँ। यो भूमिमा जन्मेकाले यहाँको कला, संस्कृति, धरोहरलाई विश्वस्तरमा पुर्याउने लक्ष्य मेरो छ। म चाहन्छु नयाँ पुस्तामा हाम्रो कला, संस्कृति नहराओस्,’ उनले भनिन्, 'त्यसैले अटैचीको मूल्यभन्दा पनि मिथिला कलाले पाएको महत्व मेरो लागि धेरै ठूलो छ। एउटा कलाकारलाई यहाँभन्दा धेरै के चाहियो र।’
सुनैनाको आर्ट ग्यालरीमा १५ जनाले काम गर्छन्। बाहिर उत्पादन भएका मिथिला कलाका सामग्री पनि उनले आफ्नो ग्यालरीमा राखेकी छन्। ती सामग्री विदेशीले पनि किन्ने गरेको सुनैनाले बताइन्।
उनले नेपालका विभिन्न स्थानका साथै भारत, जापान र अमेरिकामा मिथिला कलाको दुई दर्जनभन्दा बढी एकल–प्रदर्शनी गरेकी छन्। अमेरिकामा कमन ग्राउन्ड अवार्ड, भारतमा आरजेएफ इन्टरनेसनल अवार्ड, इन्टरनेसनल पेन्टिङ स्यामपोसियुम अवार्ड, बेस्ट पेन्टिङ अवार्ड पनि पाएकी थिइन्।
साथै नेपालमा एन–पिस अवार्ड, सफल महिला उद्यमी अभिप्रेरणा अभियान, ललितकला स्पेसल अवार्ड, ललितकला राष्ट्रिय अवार्ड लगायत अवार्ड प्राप्त गरेकी छन्।

मधेस प्रदेशको अर्थ मन्त्रालयका प्रवक्ता उपेन्द्र न्यौपानेका अनुसार मन्त्रालयले गर्ने विभिन्न कार्यक्रममा उपहार दिँदा मिथिला कलालाई प्राथमिकतामा राखिन्छ। साथै मन्त्रालय, कार्यालयहरूमा पनि मिथिला संस्कृति प्रवर्द्धन हुने कलाकृति प्रस्तुत गरिएको उनले बताए।
प्रदेश सरकारको आगामी वर्षको बजेट वक्तव्यमा उद्योग, वाणिज्य तथा पर्यटन शीर्षकको पहिलो बुँदामै मधेस प्रदेशको राजधानीलाई पर्यटनमैत्री तथा पर्यटकहरूलाई मिथिला संस्कृतिको मौलिकता अनुभूत हुने गरी आवश्यक पूर्वाधार निर्माणमार्फत सौन्दर्यीकरण गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख छ।
साथै जनकपुरधाममा धार्मिक र सांस्कृतिक झल्को दिनेगरी ढल्केवरदेखि जटही तथा जिरो माइलबाट भिठ्ठामोड जाने बाटोको ठाउँ ठाउँमा दुवैतर्फ पर्खाल निर्माण गरी मिथिला चित्रकला गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
मधेस सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ ३ अर्ब ८ करोड ७१ लाख ७४ हजार रूपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री सुनिलकुमार यादवले आइतबार आगामी वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए।
