भदौ २४ गते, अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापा परिवारसँग पोखराको घरमा थिए।
अटो व्यवसायी उनलाई जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीहरू आगो झोस्न घरै आइपुग्छन् भन्ने कल्पना समेत थिएन।
'हामी सबै परिवार घरमा बिरलै हुन्थ्यौं। त्यो दिन सबै सँगै थियौं। अचानक मानिसहरूले घर घेराउ र तोडफोड गर्न थाले। हामी हतारहतार त्यहाँबाट भागेर आफन्तकोमा गयौं,' ध्रुवले भने।
घरमा काम सघाउने दुई जना कर्मचारी थिए। उनीहरूमध्ये एक जना सकुशल निस्किए। एक जनाको भने जलेर मृत्यु भयो।
'एक जना दाइ र बहिनी हुनुहुन्थ्यो। दाइ सकुशल निस्किन सक्नुभयो। बहिनी मोबाइल छुट्यो भनेर लिन फेरि माथि जानुभएछ। उहाँलाई देख्दादेख्दै पनि प्रदर्शनकारीहरूले आगो झोसिदिएछन्। त्यहीँ जलाइदिए। निकै दुःखद घटना झेल्नुपर्यो,' उनले भने।
पोखरा नयाँ बजारमा रहेको ध्रुवको यो घर दुई वर्षअगाडि मात्र बनेको हो।
पाँचतले घरका दुई तलामा उनीहरू बस्थे। अरू तलामा ध्रुवको 'हिमालयन अर्गनाइजेसन' को मुख्यालय थियो। हिमालयन अर्गनाइजेसन छाता संस्था हो। यसभित्र घरजग्गा, होटल/हस्पिटालिटी, अटोमोबाइल्स, इन्जिनियरिङ लगायत १५ वटाभन्दा बढी कम्पनी छन्। यी कम्पनीहरूमा उनको एकल लगानी मात्रै चार अर्ब रूपैयाँ नाघिसकेको छ।
हिमालयनका सबै कम्पनीका मुख्यालय र कागजातहरू ध्रुव बसेको यही भवनमा थियो। भुइँतलामा अटोमोबाइल्स शोरूम थियो।
'धेरै वर्षको मेहनत यहीँ थियो। सबै सामान, फाइल, तथ्यांक जले। केन्द्रीय अफिस ध्वस्त भयो,' उनले भने।
आगजनीबाट उनको घर र कार्यालय रहेको भवन पूर्ण क्षति भएको छ। ध्रुव र उनको परिवार अहिले आफन्तकोमा बसेका छन्।

अहिले क्षति यति रकमको भयो भन्ने यकिन हिसाबकिताब भइसकेको छैन। प्रारम्भिक अनुमान गर्दा १५ करोड रूपैयाँभन्दा धेरैको भएको उनले बताए।
'मानसिक क्षति असह्य छ। बाजेबुबाको पालादेखिका पुर्ख्यौली सम्झनाका सामान थिए, ती अब कहिल्यै फर्किँदैनन्,' ५४ वर्षीय ध्रुवले भने।
आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्टाचार वा तस्करीमा संलग्न नहुँदा पनि आफ्नो घर र कार्यालय तारोमा परेको उनले गुनासो गरे।
१७ वर्षको उमेरदेखि आफूले गरेको मेहनत हेर्दाहेर्दै खण्डहर हुँदा शब्दबिहीन बनाएको उनले बताए।
हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवले तीन लाख रूपैयाँमा व्यवसाय सुरू गरेका थिए।
उनको पहिलो व्यवसाय मोटरसाइकल रिकन्डिसन सेन्टर थियो।
करिब ३७ वर्षअघि, उनी भर्खर एसएलसी (एसइई सरह) सकेर प्रविणता तह (प्लस–टू सरह) पढ्दै थिए। त्यो बेला पोखरा बजारमा नयाँ मोटरसाइकलका केही सोरूम थिए। चलाइसकेका पुराना मोटरसाइकलको भने औपचारिक किनबेच हुन्थेन। यस्तो कारोबार चिनजानका व्यक्ति–व्यक्तिबीच हुन्थ्यो।
त्यही बेला ध्रुवका दाइले आफूले चलाइरहेको मोटरसाइकल बेचे। किनेकोभन्दा बढी दाम पाए, फाइदा भयो।
पुराना मोटरसाइकल बेच्ने आधिकारिक ठाउँ नभएको र फाइदा पनि हुने देखेपछि ध्रुवले यसमै हात हाल्ने निधो गरे।
'मैले अरूभन्दा फरक व्यवसाय गर्छु भन्ने सोचेको थिएँ,' ध्रुवले सम्झिए, 'दाइको मोटरसाइकल बेचेको अनुभवपछि अरू पनि किन्दै बेच्न थालेँ।'
केही समयपछि उनीसँग अलिकति पैसा जम्मा भयो। केही खोजखाज गरे। खर्च जुटाउन बुबा र दाइको सहयोग पाए।
२०४८ सालमा, तीन लाख रूपैयाँ लगानीमा उनले पोखराको नयाँ बजारमा 'गण्डकी रिकन्डिसन सेन्टर' खोले। चलिसकेका मोटरसाइकलको संस्थागत बिक्री थाले।
'नेपालमा सबभन्दा पहिले दर्ता भएको रिकन्डिसन सेन्टर त्यही नै हो,' उनले भने, 'त्यति बेला जापानी मोटरसाइकलको चलन बढी थियो। मैले होन्डा एक्सएल र होन्डा सिजी दुइटा मोटरसाइकल मात्र राखेको थिएँ।'
कानुन विषयमा प्रविणता तह पढिरहेका ध्रुवको कक्षा बिहान थियो। केही कक्षा छाडेर उनी काममा जान्थे। बिहान दस बजे सेन्टरमा पुग्ने उनी सरसफाइदेखि बिक्री, हिसाबकिताब लगायत सबै काम एक्लै सम्हाल्थे।
उनलाई पहिले पनि पसल चलाएको धेरथोर अनुभव थियो। उनले बुबाको किराना पसलमा सघाएका थिए। यो अनुभवले उनलाई आफ्नै व्यवसाय चलाउन सहज भयो।
'बुबा भारतीय सेना हुनुहुन्थ्यो। फर्किएपछि किराना पसल खोल्नुभएको थियो,' उनले भने, 'स्कुल पढ्ने बेलामा बुबालाई सघाएकाले पनि धेरै कुरा सिकेको थिएँ।'
रिकन्डिसन सेन्टरको कारोबारबाट राम्रो आम्दानी भयो। उनमा उत्साह थपियो। व्यवसाय विस्तार गर्ने योजना बनाए।
तीन वर्षपछि सुजुकी मोटरसाइकलले पोखरामा डिलर राख्ने प्रस्ताव ल्यायो। उनले स्वीकार गरे। उनको व्यवसायले रिकन्डिसन सेन्टरसहित डिलरको पनि नाम पायो।
त्यसको केही समयपछि ध्रुवले जापानी गाडी डाइहाट्सुको डिलर चलाए। नेपाली गाडी हुलास मुस्ताङको पनि डिलर बन्न पाए।
'तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेपछि त्यो गाडी चर्चामा आयो। त्यस बेला तुरून्तै चाहियो भनेर माग आएको थियो। कम्पनीमा थिएन। मैले पोखराबाट काठमाडौं पठाएको थिएँ,' उनले सम्झिँदै भने।
बिस्तारै बजारमा रिकन्डिसन सेन्टर थपिँदै गए। प्रतिस्पर्धा बढ्दै गयो। ध्रुव नयाँ व्यवसायतिर आँखा लगाउन थाले। सात वर्ष चलाएपछि रिकन्डिसन सेन्टर छाडिदिए।
अटोमोबाइल्स क्षेत्रमा लगानी गर्दागर्दै बीचमा उनले घरजग्गा कारोबारतिर हात हालेका थिए। सुरूमा सानो प्लटिङमा लगानी गरे।
'१७ वर्ष अगाडि डेढ करोड रूपैयाँ जति लगानी गरेको थिएँ होला,' उनले भने।
घरजग्गा कारोबारबाट सबभन्दा राम्रो आम्दानी भयो। हाउजिङमा पनि लगानी गरेका थिए, सफल भएनन्। अनि जग्गा प्लटिङमै जोड दिए। जग्गाको आम्दानीले अटो क्षेत्रमा फड्को मार्न सहज बनायो।
रिकन्डिसन हुँदै डिलरसिपमा काम गरिरहेका उनले सन् २०१४ देखि गाडी आयातकर्ताका रूपमा काम थाले। आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत् फोर्स मोटर्स गाडीको नेपालका लागि आधिकारिक वितरक बने।
ध्रुवले बैंकिङ क्षेत्रमा पनि लगानी गरेका छन्। यसबाहेक उनको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालन छ। त्यस्तै टुर्स एन्ड ट्राभल्स पनि उनले हात हालेको अर्को क्षेत्र हो। कोरोनाले केही समय थिलिथिलिएको होटल र ट्राभल्स कम्पनी अहिले राम्रै चलिरहेको छ।
विभिन्न क्षेत्रमा काम गर्दै गएका थापाले शिक्षा क्षेत्रमा पनि लगानी गर्ने जमर्को गरेका थिए। तर काठमाडौंमा सुरू गरेको कलेज डुबेपछि उनले अगाडि जाने सोचेनन्। बरू अटोमोबाइल्ससँगै सर्भिसका निम्ति अटो इञ्जिनियरिङमा लगानी गरे।
ध्रुवका अनुसार होटल र बैंकबाहेक घरजग्गा तथा अटो क्षेत्रमा उनको एकल लगानी छ। यी क्षेत्र उनले हिमालय अर्गनाइजेसन समूहमार्फत् सम्हालिरहेका छन्। सामान्य रिकन्डिसन सेन्टरबाटै अहिले दर्जन बढी कम्पनी उभ्याएका छन्।
रिकन्डिसन सेन्टरबाट व्यापारिक समूहसम्म आइपुग्न ध्रुवले थुप्रै अप्ठ्यारा पार गरे। कहिले भूकम्प, कहिले नाकाबन्दी त कहिले कोभिड महामारी जस्ता समस्यासँग जुद्धै अघि बढिरहेका उनलाई पछिल्लो घटनाले फेरि झस्काएको छ।
'आफू बस्ने घर, अफिस जलाइँदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। खण्डहर घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेको छ,' उनले भने।
देशमै केही गर्छु भनेर लागिरहँदा हरेक समूहले आफ्नो व्यवसायलाई तारो बनाउँदा निकै दुःख लागेको उनले बताए। व्यक्तिगत रिसइबी लिएर पनि कतिपयले व्यापार/व्यवसाय सिध्याउन लागेको देखिएको उनले बताए।
'पहिले पनि सरकारको नीतिले हाम्रो लगानी जोखिममा पर्ने अवस्था भइरहेको थियो। समय समयमा विभिन्न नाममा आन्दोलन हुन्छन्। हरेक आन्दोलनमा हामी उद्योगी/व्यवसयी नै तारोमा पर्छौं,' ध्रुवले भने।
यस्तै अवस्था दोहोरिइरहने हो भने भोलिका दिनमा लगानी किन कसरी गर्ने भन्ने उनको चिन्ता छ। तर लगानीको वातावरण बन्छ भने फेरि पनि लगानी गर्न तयार भएको उनले बताए। यसका लागि अब आउने नयाँ सरकारले विश्वसनीय वातावरण बनाउनुपर्ने उनले बताए।
'व्यवसायको सुरक्षा प्रत्याभूति भयो भने मात्रै हामी थप लगानी गर्न सकौंला,' उनले भने।
अहिले ध्रुवको व्यवसायको मुख्यालय पूर्ण रूपमा क्षति भए पनि शाखा कार्यालयहरूबाट सेवा सुरू भइसकेको छ।
'हाम्रा सेवाग्राहीकै कारण अघि बढ्ने हौसला मिलेको छ। त्यसैले हामीले सेवा सुरू गरिसकेका छौं,' ध्रुवले भने।