फलाम तथा स्टिलजन्य निर्माण सामग्रीको मूल्य हरेक हप्ता घट्ने–बढ्ने भइरहेको छ।
यस वर्ष कोरोना लहर र निषेधाज्ञाअघि डन्डी प्रतिकिलो पचहत्तरदेखि असी रूपैयाँ बीच कारोबार भएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै किलोमा बीसदेखि पैंतीस रूपैयाँ बढेको छ। अहिले निर्माणस्थल पुर्याउँदा छड प्रतिकिलो एक सय दस रूपैयाँसम्म लाग्ने व्यवसायीहरूले बताएका छन्।
निषेधाज्ञा खुकुलो भएपछि फलामजन्य सामग्रीको भाउ तीन पटक तलमाथि भइसक्यो। ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले स्टिल सामग्रीमा पनि हरेक हप्ता मूल्य परिवर्तन भएको बताए।
'निषेधाज्ञाअघि एक बन्डल जस्तापाताको बढीमा नौ हजार थियो। डन्डी पचहत्तर–असी रूपैयाँ प्रतिकिलो,' उनले भने, 'अहिले जस्तामा पाँच हजार र डन्डीमा बीस–पच्चीस रूपैयाँ बढेको छ।'
बजारमा सामान्य ब्रान्डका छड प्रतिकिलो एक सयदेखि एक सय दस रूपैयाँ छ। हिमाल र पञ्चकन्याका भने निर्माणस्थलसम्म पुर्याउँदा किलोको एक सय पच्चीस पर्छ।
कट्टेल इन्टरप्राइजेज, टोखाका सञ्चालक गोपाल कट्टेल पनि निषेधाज्ञा खुकुलो भएपछि तीन पटक मूल्य तलमाथि भएको बताउँछन्। उनका अनुसार साउनको पहिलो साता केही सस्तिएको डन्डी दोश्रो साता फेरि महँगिएको छ। भाउ बढाउने जानकारी सहित डिलरहरूले अर्डर लिन सुरू गरिसके।
'गत मंगलबारको जानकारी अनुसार डिलरहरूले मूल्य बढाउने सूचना दिएर अर्डर टिपेका छन्। अब सामान झार्दा बढी मूल्य तिर्नुपर्छ,' उनले भने।
महासंघका अध्यक्ष कटुवाल भने व्यवसायी र डिलरको मिलेमतोमा लगातार मूल्य वृद्धि भएको र सरकारले अनुगमन नगरेको आरोप लगाउँछन्। लगातार दुई वर्ष लकडाउन झेलेका व्यापारीले मूल्य बढाएर चाँडो नाफा कमाउने बाटो रोजेको उनको भनाइ छ।
उनले भने, 'फलाम र स्टिलको कारोबार ठूला भनिने व्यापारीको नियन्त्रणमा भयो। सरकारले पनि केही गर्न सकेन।'
चौतर्फी विरोध भइहालेमा थोरै रकम घटाउने र फेरि धेरै बढाउने बताउँदै उनले थपे, 'मूल्य बढाउँदा दस रूपैयाँ बढाउँछन्। घटाउँदा पाँच रूपैयाँ। भन्सार शुल्क यथावत रहँदा र माग नबढेको अवस्थामा हरेक हप्ता मूल्य बढाउनु पर्ने कारण छैन।'
एक हजार वर्गफिटमा बन्ने चार कोठे घर बनाउँदा डन्डीमा कति खर्च हुन्छ?
छड ८, १०, १२, २० मिमि लगायत आकारमा उपलब्ध हुन्छ। घर बनाउने जमिन र संरचनाका आधारमा इञ्जिनियरले सुझाएअनुसार विभिन्न आकारका छड प्रयोग गरिन्छ।
संरचनाको पिलर, भित्रका पर्खाल आदिले डन्डीको लागत निर्धारण हुन्छ। एक तले घरको कुरा गर्दा जग कम्तीमा पाँच फिट गहिरो र बाह्र वटा पिलर हुनुपर्ने बिल्ड इनोभेसनका इञ्जिनियर सुवास अधिकारी बताउँछन्।
'पाँच फिट गहिरो जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ,' उनले भने, 'बाह्र वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ।'
यसबाहेक जगसँगै राखिने बिम, रिङ वा चुरी लगायतमा विभिन्न आकारका छ सय बीस किलोभन्दा बढी छड प्रयोग हुन्छ। त्यस्तै पहिलो तलामा हुने तीन किसिमका बिमका लागि छ सय बीस केजी, झ्यालमा तल र माथि डन्डी र हुकमा तीन सय केजी र भर्याङमा नब्बे केजी, डन्डी अनुमान गर्नुपर्ने अधिकारीले जानकारी दिए।
'माथिका सबै र छतमा लाग्ने डन्डी सहित एक तले घर बनाउन पाँचदेखि छ हजारकिलो डन्डी अनुमान गर्नुपर्छ,' उनले भने, 'पहिलो तलाको तुलनामा दोश्रो, तेश्रो तलामा कम लाग्छ।'
आठ मिमी र योभन्दा कम आकारको डन्डी सामान्यतया पाँच रूपैयाँसम्म महँगो हुने अधिकारीले बताए। त्यस्तै २५ मिमीभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ।
माथिको अनुपातलाई हालको मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिट बराबर क्षेत्रफलमा बन्ने चार कोठे घरमा करिब साढे पाँच लाखदेखि साढे छ लाख रूपैयाँसम्म डन्डीमा खर्च हुन्छ। यहाँ हिमाल र पञ्चकन्याका डन्डी प्रयोग गर्ने हो भने एक लाख पचास हजार बढी लाग्न सक्छ।
आवासीय घर बनाउँदा छडको सही छनोट कसरी गर्ने?
प्रतिस्पर्धी बजारमा सबै कम्पनीले आफू अब्बल रहेको दावी गरिरहेका हुन्छन्। धेरै उपभोक्तालाई भने घरमा कस्तो छड प्रयोग गर्ने भन्ने अलमल हुन्छ। इञ्जिनियर सुवास अधिकारीका अनुसार छड किन्ने बेलामा ध्यान दिनुपर्ने मुख्य कुरा ग्रेड र गुणस्तर हो।
साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। आवासीय घर निर्माणमा एफइ ५०० र एफइ ४१५ ग्रेडका छड धेरै प्रयोग हुन्छ।
छडको ग्रेड, भारवहन क्षमताका साथै लचकताबारे उत्तिकै सचेत हुनुपर्छ।
'ग्रेडले छडको बलियोपन बुझाउँछ। उच्च ग्रेडका छड भए थोरै परिमाणले काम चल्छ र बलियो पनि हुन्छ,' अधिकारीले भने, 'लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन सहयोग गर्छ।'
ध्यान दिनुपर्ने अर्को कुरा छडको गुणस्तर हो।
निर्माण कम्पनीले बजारमा पठाएको छडको प्रयोगशाला परीक्षण गरेको हुनुपर्छ। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।
त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम भएको अधिकारीले जानकारी दिए।
'छड धेरै किन्दा होस् वा थोरै, प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन,' उनले भने, 'कम्पनी वा आधिकारिक विक्रेताले रिपोर्ट दिन मानेनन् भने आफैंले पनि गुणस्तर जाँच गराउन सक्छौं।'
घर डिजाइन गर्ने कम्पनीले प्रयोगशाला परीक्षण गर्ने र सरकारी तहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा छडको गुणस्तर जाँच हुने उनले जानकारी दिए। सानो होस् वा ठूलो निर्माणका लागि, नबिर्सिकन त्यो छड गुणस्तर चिह्न प्राप्त हो कि होइन यकिन गर्नुपर्छ।
'कहिलेकाहीँ नाम चलेका कम्पनीबाटै गडबढी भएको हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ,' उनले भने, 'कवाडी फलाम पगालेर बनाएको डन्डी पर्यो भने निर्माण कमजोर हुन्छ। कम गुणस्तरका डन्डी कम मूल्यमा पाइने पनि हुन्छ। सस्तोमा पाइयो भन्दैमा किन्नु जोखिमपूर्ण हुन्छ।'
अहिले बजारमा 'थर्मो मेकानिकल ट्रिटमेन्ट' प्रक्रियाद्वारा उत्पादित छड चल्तीमा छ। यसलाई सामान्य भाषामा टिएमटी छड भनिन्छ। व्यापारिक तथा आवासीय भवनमा टिएमटी छड नै प्रयोग भइरहेको अधिकारीले जानकारी दिए।