धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गरिएको छ।
छनोट हुनेमा एम एन्ड दस्तुर, एस आर के र जेड कम्पनी रहेको धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्दले जानकारी दिए।
यीमध्ये दुइटा भारतीय कम्पनी हुन् भने, जेड नेपाली कम्पनी हो। यी तीन कम्पनीले संयुक्त रूपमा काम गरेर व्यावसायिक तथा आर्थिक सम्भाव्यताको अध्ययन प्रतिवेदन धौवादी फलाम कम्पनीलाई दिने छ।
'व्यावसायिक रूपमा उत्खनन गर्न सकिन्छ कि सकिँदैन, त्यसको खर्च कति लाग्छ भनेर फागुनभित्रमा प्रतिवेदन आउँछ,' चन्दले भने।
बेलायत, क्यानडा, अस्ट्रिया, चीन र भारतका गरी पाँच वटा कम्पनीले धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव पेस गरेका थिए। सम्भाव्यता अध्ययन प्रतिवेदनबाट सम्भाव्य देखिएमा डिपिआरको काम अगाडि बढाई प्रतिवेदनअनुसारै उत्खनन, प्रशोधन र उत्पादनका लागि आवश्यक प्रक्रिया थालिने चन्दको भनाइ छ।
'हामी थप काम गर्न तयारी अवस्थामा छौं,' उनले भने, 'प्रतिवेदन कस्तो आउँछ, त्यसको पखाईमा छौं।'
सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक आउनेमा आफूहरू आशावादी रहेको उनी बताउँछन्। खानीमा विद्युतका लागि धौवादी विद्युत प्रसारण आयोजना समेत गठन गरिएको छ।
कम्पनीका अनुसार परामर्शदाता, धौवादी विद्युत प्रसारण आयोजनाका प्रतिनिधि र धौवादी फलाम कम्पनीले भर्खैरै मात्र खानी, बाटो, प्रशोधन प्लान्ट र उद्याेग क्षेत्रको स्थलगत अध्ययन गरेको छ।
'दुई सय २० केभिए प्रसारण लाइनबाट विद्युतको काम अघि बढेको छ,' उनले भने, 'हामीले करिब एक सय २५ मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरेका छौं।'
कारखानासम्म बिजुली पुर्याउँदा त्यसमा पर्ने वातावरणीय प्रभाव मूल्यांकन तथा यसको स्वीकृति र माइनिङ सेस्मिक तयार भएपछि व्यावसायिक उत्पादनका लागि आवश्यक कार्य अगाडि बढाइनेछ। उनका अनुसार पहाडी क्षेत्रमा फलाम खानीसम्म पुग्ने सडकको निर्माण काम पनि अन्तिम चरणमा पुगेको छ।
अहिले फलाम छिमेकी मुलुक भारतबाट आयात भइरहेको छ। यहीँ फलाम उत्पादन भए २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने डा. चन्द बताउँछन्।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि अहिले धमाधम फलाम खानी उत्खननका लागि प्रक्रिया अघि बढाइएको छ। पाँच वर्षअघि नै त्यहाँ दस किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले फलाम उत्खननका लागि प्रक्रिया अगाडि बढाएको हो।
सरकारले ०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो। मुलुकका उद्योगहरूलाई आवश्यक पर्ने फलाम स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सरकारले कम्पनी स्थापना गरेको हो।
यसअघि हुप्सेकोटको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो।
चिनियाँ प्रयोगशालाले यो खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो।
चन्दका अनुसार धौवादी फलाम कम्पनीका भूगर्भविदको संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करिब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको छ।
यसअघि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनबाट दस करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो। पूर्व–पश्चिम राजमार्गको डन्डा बजारबाट २७ किलोमिटर उत्तरमा धौवादी फलाम खानी छ। खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाटै फलाम खानीको अध्ययन गर्दै आएको थियो।
सरकारले स्वदेशमै फलाम उत्पादनका लागि धौवादी फलाम कम्पनीको स्थापना गरी पूर्वपश्चिम राजमार्गको नवलपरासी (सुस्ता पूर्व) को कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिकास्थित धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा अध्ययन अनुसन्धान कार्य आर्थिक वर्ष ०७६/०७७ देखि गर्दै आइरहेको छ।