करिब ६ वर्षअघि परेको उजुरीमा भारतले गुगललाई दोषी ठहर गर्दै एक अर्ब ३६ करोड भारतीय रुपैंयाँ (२ अर्ब १७ करोड नेपाली रुपैंयाँ) जरिवाना गराएको छ।
गुगलले आफ्नो प्रभुत्वको दुरुपयोग गरी प्रयोगकर्ताहरुले गर्ने ‘सर्च’ मा पूर्वाग्रही भएर आफ्नै ‘सर्च पेज’ खोल्न बाध्य पारेको भन्दै सन् २०१२ मा उजुरी परेको थियो।
सन् २०१२ मा दुलहा वा दुलही खोजिदिने भारतीय अनलाइन वेभसाइट ‘म्याट्रीमोनी डटकम’ तथा उपभोक्ता हित संरक्षण संस्थाहरुले गुगल विरुद्ध उजुरी दिएका थिए।
भारतको उक्त मामिला हेर्ने नियामक निकाय ‘कम्पटिसन कमीसन अफ इन्डिया’ (सिसिसी)ले गुगल त्यसरी पूर्वाग्रही हुँदा अन्य प्रतिस्पर्धी सर्च वेभसाइट माथि अन्याय भएको ठहर गर्दै सो जरिवानाको निर्णय गरेको हो।
सो जरिवाना रकम गुगलले भारतबाट आर्जन गर्ने कुल आम्दानीको ५ प्रतिशत हिस्सा बराबर रहेको छ। २०१२ देखि २०१५ सम्मको तीन वर्षको अवधिमा गुगलले भारतबाट करिब २ खर्ब ७० अर्ब भारतीय रुपैंयाँ कमाएको थियो।
करिब ८ महिनाअघि मात्रै सोही विषयमा गुगललाई युरोपियन युनियनले करिब २ अर्ब ४२ करोड युरो जरिवाना गराएको थियो।