मोबाइलको कुम्भ मेला मानिने ‘वल्र्ड मोबाइल काँग्रेस’ बार्सिलोनमा जारी छ। नोकियाले गत वर्षको यसै कार्यक्रम मार्फत बहुचर्चित ३३१० मोडललाई पुनरागमन गराएको थियो। सो मोडलको चर्चा हालसम्म कम भएको छैन।
यस्तैमा नोकियाले अर्को पुरानो मोडल ८११० लाई पुनारागमन गराएको छ। यो फोन बार्सिलोनामा जारी ‘वल्र्ड मोबाइल काँग्रेस’ मा सार्वजनिक गरेको हो।
यो फोन सन् १९९६ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। करिब २२ वर्षपछि पुनारगमन भएपछि भने फोनमा फोरजी भोओएलटीई (भ्वाइस ओभर एलटिई) नेटवर्क कनेक्टिभिटी, गुगल एसिसटेन्ट्, म्याप्स, सर्च, फेसबुक र ट्विटर समेत अटाएको छ।
फोनमा २.४ इन्चको फोल्डेबल क्युभिजिए कर्भड् डिस्प्ले, क्वालकम स्नापड्रागन २०५, एफएम रेडियो, वाइफाइ, माइक्रो युएसभी छन्।
यी २ मेगापिक्सेलको क्यामरा भएको फोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको इन्टरनल स्टोरेज क्षमता छ। यद्यपी फोन ‘ फोल्डेबल’ भने होइन।
१ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री छ। कम्पनीले फोनको ब्याट्री २५ दिनसम्म टिक्ने दाबी गरेको छ।
फोन कालो तथा बनाना पहेंलो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
फोनको मूल्य ७९ युरो अर्थात करिब १० हजार रुपैयाँ तोकेको छ। अन्तराष्ट्रिय बजारमा यो फोन मे महिनाबाट बजारमा आउने कम्पनीले जनाएको छ।
नेपालको लागि नोकियाको आधिकारकि बितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्स प्रालि रहेको छ। प्रालिले यस फोनको उपलब्धता बारे केहि उल्लेख गरेको छैन। यद्यपी यस फोन आउँदो तिन महिना भित्रमा नेपाल आउने आँकलन गरिएको छ।