सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘फाइबर टु द होम’ एफटिटिएच सेवाको उद्घाटन जनकपुरधामबाट गरेका छन्।
जनकपुरधामस्थित नेपाल टेलिकमको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच एफटिटिएच सेवाको शुरुवात बाँस्कोटाले हुन्। मन्त्री बाँस्कोटाले प्रदेश दुईका मुख्य सचिव दीपक सुवेदीलाई फोन गरेर सो सेवाको उद्घाटन गरेका हुन्।
नेपालमै पहिलो पटक शुरुवात गरिएको सो सेवाबाट प्रयोगकर्ताले एउटै फाइबर तारबाट भ्वाइस, भिडियो तथा डाटाको प्रयोग गर्न पाउनेछन्। जनकपुरधाममा रहेको ११ हजार टेलिफोन लाईनमा पहिलो चरणमा यो सेवाको विस्तार गर्ने नेपाल टेलिकमको लक्ष्य रहेको छ। ती प्रयोगकर्ताहरुको लाइनलाई अप्टिकल फाइबरमा परिणत गरिने छ।
पहिलो पटक फाइबर टु द होम एफटिटिएच सेवाको उदघाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले नेपाल टेलिकमले नव वर्षलाई चितुवा वर्षको रुपमा लिनु पर्ने बताएका छन्।
उनले चितुवा जुन गतिमा दौडिन्छ त्यही गतिमा नेपाल टेलिकमले पनि काम गर्नुपर्ने बताए। ‘चितुवाले आफ्नो गतिमा दौडिन छोड्यो भने उसलाई भोकै बस्नुपर्छ, त्यो हाल तपाईंहरुको नहोस,’ उनले भने।
नेपाल टेलिकम उत्पादनको हिसाबले दोस्रो स्थानमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले ४ हजार २ सयको पल्टनले पहिलो स्थान पाउनका लागि गतिलो काम गर्नैपर्ने बताए।
एक वर्ष भित्रै फोरजी सेवाको विस्तार देशभरी गरिने जानकारी गराउँदै मन्त्री बाँस्कोटाले यसका लागि देशभर फाइबर ओछ्याउने काम भईरहेको बताए।
फाइबर ओछ्याउनका लागि नेपाल टेलिकमलाई प्रदेश १, प्रदेश २ र प्रदेश ३ को जिम्मा दिइएको छ भने गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा अन्य कम्पनीले यो काम गरिरहेको उनले बताए।
यदि ती कम्पनीहरुले राम्ररी काम गर्न सकेनन् भने बाँकी प्रदेशको फाइबर ओछ्याउने काम पनि नेपाल टेलिकमलाई नै दिइने मन्त्री बाँस्कोटाले बताए ।