लामो समयको अन्यौलपछि पछिल्लो साता जब धमाधम वितरित खोपले महामारीविरुद्ध आशाका किरणहरू जगाउँदै थियो, त्यतिबेलै युरोपतिरबाट चिन्ताजनक समाचार पनि आउन थाल्यो।
गत सप्ताहान्तमै बेलायतका अधिकारीहरूले उक्त मुलुकमा अझ बढी संक्रामक प्रवृत्तिको कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको जानकारीका साथ खतराका घन्टी बजाउन सुरू गरे।
लन्डन सहर र त्यसआसपासका क्षेत्रमा यो भाइरस तीव्र विस्तार भएको जानकारीका साथ प्रधानमन्त्री बोरिस जोन्सनले गत मार्चयताकै सबभन्दा कडा लकडाउन घोषणा गरे।
'भाइरसले जब उसको आक्रमणको तौरतरिका बदल्छ, त्यतिखेर हामीले पनि रक्षात्मक उपायमा फेरबदल गर्नैपर्छ,' ' प्रधानमन्त्री जोन्सनको भनाइ थियो।
आवतजावतमा कडाइ थाल्नेबित्तिकै लन्डनको रेलवे स्टेसनमा एकाएक भीड लाग्न सुरू भएको थियो। उनीहरू सबै सहरबाट निस्केर बाहिर जान चाहन्थे। त्यसैगरी यो नयाँ प्रजातिको भाइरस संक्रमण नियन्त्रण गर्न सकिएला कि भन्ने आशाले युरोपका अन्य मुलुकले आ–आफ्ना सीमानाकामा बेलायती पर्यटकलाई छेक्न पनि सुरू गरेका थिए। नेपालले पनि बेलायत वा त्यहाँ ट्रान्जिट भएर आउन बुधबार राती १२ बजेबाट रोक लगाउने घोषणा गरेको छ।
उता दक्षिण अफ्रिकामा पनि उस्तै प्रकारको नयाँ भाइरस देखा पर्न थाल्यो जुन बेलायतको जस्तै परिवर्तित भएको यसमा संलग्न वैज्ञानिकहरू बताइरहेका थिए। दक्षिण अफ्रिकामा गत नोभेम्बर मध्यदेखि संकलन गरिएको अनुवांशिक नमूनामध्ये झन्डै ९० प्रतिशतमा यो नयाँ प्रकारको भाइरस देखापरेको थियो।
यो नयाँ भाइरसले वैज्ञानिकहरूलाई चिन्तित तुल्याए पनि उनीहरूका निम्ति आश्चर्यजनक भने थिएन। संसारभर आफ्नो प्रभाव फिँजाउन सफल कोरोना भाइरसले सबैतिर अनेक तवरबाट हजारौं किसिमका थुप्रै स–साना परिवर्तन आफूमा देखाउँदै जान थालेको अध्येताहरूले रेकर्ड गरिसकेका थिए।
भाइरसको कुनै कुनै प्रजातिले भने ठूलो जनसंख्यामा एकै प्रकारले आफ्नो उपस्थिति जनाइरहेको थियो। त्यस्तो एकैखाले भाइरस मात्र देखिने अवस्था भाग्यवश मात्र हुन्थ्यो। त्यो भाग्य खोप, मानिसमा बढ्दो प्रतिरोधक क्षमताजस्ता कुराले अन्य भाइरस निमिट्यान्न भएकाले आउँथ्यो। अनुसन्धाताहरूले अझ फैलिन सक्नेगरी अनुकूल हिसाबले भाइरसमा सजिलै परिवर्तन हुनसक्ने वा शरीरको प्रतिरोधी क्षमता छल्न सक्ने पहिल्यै अनुमान लगाएका थिए।
'यो कडा चेतावनी थियो। यसप्रति हामी अत्यन्त सावधान हुनुपर्थ्यो,' सियाटलस्थित फ्रेड हटचिन्सन क्यान्सर रिसर्च सेन्टरका इभोलुसनरी बायोलोजिस्ट जेसी ब्लुम भन्छन्, 'यस किसिमको भाइरसमा हुने परिवर्तन अवश्यम्भावी थियो जुन अब सबैतिर विस्तार हुनेछ। हामी वैज्ञानिक समुदायले यो परिवर्तन नियाल्ने र यसमध्ये कुन कत्तिको प्रभावकारी छ भनेर छुट्याउने काम गर्नु जरुरी छ।'
भाइरसको बेलायती प्रजातिमा २० किसिमका परिवर्तन देखिएका छन्। तीमध्ये कतिपय मानव कोषमा प्रभाव पार्न सक्ने किसिमका छन्।
'यस किसिमको परिवर्तनबाट सिर्जित प्रजातिले अझ तीव्र रूपमा संक्रमित पार्न सक्ने देखिन्छ,' बेलायत सरकारको वैज्ञानिक सल्लाहकारका साथै स्कटल्यान्डस्थित सेन्ट एन्ड्रयुज विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञसमेत रहेकी म्युज सेभिक भन्छिन्।
सेभिकका अनुसार ल्याबमा अहिलेसम्म परीक्षण गरेर पुष्टि भइनसके पनि 'मोडलिङ'का आधारमा जाँच गर्द यो नयाँ प्रकारको भाइरस अघिल्लोभन्दा ७० प्रतिशत बढी प्रभावकारी ढंगले संक्रमित हुने देखिएको छ।
'मेरो विचारमा हामीले यसबारे थप अनुसन्धानात्मक तथ्यांक केलाउन जरुरी छ,' उनी भन्छिन्, 'यस्ता कुराहरू मानिसका आनीबानीसँग पनि जोडिएको हुनसक्ने तथ्यलाई हामीले ठाडै नकार्न पनि सक्दैनौं।'
उता दक्षिण अफ्रिकामा पनि वैज्ञानिकहरूले महामारी विस्तारमा मानवीय आनीबानी प्रभावकारी हुने फेला पारिसकेका थिए। त्योबेलासम्म अहिलेजस्तो संक्रमणका मामलामा नयाँ परिवर्तनको विस्तार भइसकेको थिएन।
अहिले धमाधम लगाउन सुरू भएको खोपले पनि रोक्न नसक्नेगरी भाइरस विकास हुन सक्नेतर्फ बेलायती घोषणाले बढी सतर्क गराउन चाहेको थियो।
विशेषगरी भाइरल अनुवांशिक कोडमा हुने एक जोडी परिवर्तनले बढी चिन्ता गराएको थियो जसले केही निश्चित एन्टिबडीमा थोरै मात्र प्रभाव देखाउँथ्यो। तर, अहिले नयाँ आएका खोपको प्रभावकारिता खुम्च्याउने गरी नयाँ भाइरस उत्पत्ति हुन महिना होइन, केही वर्ष नै लाग्ने तर्क थुप्रै विज्ञहरूले गरेका थिए।
'भएभरका रोग प्रतिरोधी र एन्टिबडी अचानक एकैपटक प्रभावहीन बनाइदिने गरी कुनै एउटै विपत्तिपूर्ण परिवर्तन हुनेछ भनेर चिन्तित हुनु जरुरी छैन,' डा. ब्लूम भन्छन्, 'त्यसनिम्ति समयसँगै थुप्रै भाइरल परिवर्तनका प्रभाव थपिँदै जानुपर्छ र यो प्रक्रियामा केही वर्ष लाग्नेछ। कुनै एउटा स्विच थिच्नेबित्तिकै बल्ने/निभ्ने जस्तो प्रक्रिया होइन यो।'
बेलायतको छरछिमेकमा भने यो बैज्ञानिक अध्ययनबारे कमै चासो पाइन्छ। नयाँ प्रकारको भाइरसबाट चिन्तित नेदरल्यान्ड्सले यसलाई बोकेर ल्याउने यात्रीबाट आफूकहाँ सर्न नदिन बेलायतसँगको हवाइ सम्पर्क आइतबारदेखि आगामी जनवरी एक तारिखसम्म रोकेको बताइसकेको छ।
इटालीले पनि हवाइ यात्रा बन्द गरेको छ भने बेल्जियमका अधिकारीले बेलायततिरबाट विमान वा रेलबाट आउने यात्रुलाई आइतबार २४ घन्टा रोक लगाएको थियो। उता जर्मनीले पनि बेलायत र दक्षिण अफ्रिकाबाट आउने यात्रीलाई सक्दो घटाउने हिसाबले नियम अघि सार्न थालेको छ।
त्यसैगरी फ्रान्स, अस्ट्रिया र आयरल्यान्डले पनि आवतजावतमा रोक लगाउने प्रक्रियामा अघि बढ्न खोजिरहेको जानकारी त्यहाँका स्थानीय मिडियाहरूले दिएका छन्। स्पेनले भने हवाइ यात्रुको ओहोरदोहोर नियन्त्रित गर्न एकीकृत योजना ल्याउन भन्दै युरोपियन युनियनलाई आग्रह गरिरहेको छ। अझ पर अमेरिकामा पनि न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले बेलायततिरबाट आउने विमान रोक लगाउन ट्रम्प प्रशासनलाई सिफारिस गरिसकेको छ।
भारतले डिसेम्बर ३१ सम्म र नेपालले बुधबार मध्यरातबाट अर्को सूचना जारी नहुन्जेल बेलायतबाट आउन रोकेको छ।
बेलायतमा भने यातायात अधिकारीहरूले अत्यधिक आवतजावत हुने स्थानहरू, विशेषगरी रेलवे स्टेशनमा केबल अत्यावश्यक यात्रु मात्र उपस्थित गराउन थप प्रहरी परिचालन गरिने जानकारी दिएका छन्। स्वास्थ्यमन्त्री म्याट हेनककले आइतबार एक सन्देशमा रेलहरूमा भीडभाड बढाउने यात्रीलाई 'असाध्यै गैरजिम्मेवार' भनेर उल्लेख गरिसकेका छन्। प्रधानमन्त्री जोन्सनले लगाएको निषेधाज्ञा महिनौं लम्बिन सक्ने जानकारी पनि उनले दिएका छन्।
अरू भाइरसजस्तै कोरोना पनि आफ्नो रूपमा परिवर्तन गरिरहन सिपालु छ। यस्ता केही अनुवांशिक परिवर्तनले भाइरस कमजोर बनाउन पनि सक्छन्, कुनैले अझ धेरै प्रभावकारी बनाइदिन पनि।
वैज्ञानिकहरू पछिल्लो प्रकारसँग बढी सावधान छन्। विशेषगरी लाखौं मानिसमा खोप लगाइसकेपछि भाइरसले नयाँ प्रकारमा आफूलाई रुपान्तर गर्न बाध्य हुनेछ। यस्तो अवस्थामा हुने परिवर्तनले आफूलाई कसरी बचाउने र रोग प्रतिरोधीसँग कसरी लड्ने भन्ने हिसाबले उसको विकास हुन सक्छ। अहिले नै पनि भाइरसमा साना परिवर्तन भइसकेका छन्। यस्ता परिवर्तन संसारभर आ-आफ्नै रूपमा अनेक किसिमबाट भइरहेका छन्। परिवर्तनहरूले भाइरसलाई नै मद्दत गरिरहेको देखाइरहेको छ।
यो परिवर्तनले एन्टिबडीको संवेदनशीलतालाई प्रभावित पार्ने काम गरिरहेको छ। यसलाई प्राविधिक हिसाबले 'द ६९–७० डिलिसन' नाम दिइएको छ। यो नामले अनुवांशिक कोडमा एउटा हराएको अक्षर संकेत गर्छ। यस्तो अवस्था डेनमार्कका तीन वटा मिंक (न्याउरी मुसा जस्तै एक प्रकारको जनावर)मा देखिएको थियो। यही अवस्था बेलायतका मानिस र रोग प्रतिरोधी शक्ति असाध्यै कम भएका बिरामीहरूमा फेला परेको थियो।
'यो संक्रमण मजाले विस्तार भइरहेको छ र जुनसुकै समय पनि यसनिम्ति अनुकूल हुने देखिएको छ,' गत साता मात्र यस विषयमा अध्ययन गरेका युनिभर्सिटी अफ क्याम्ब्रिजका संक्रामक रोग विशेषज्ञ डा. रवीन्द्र गुप्ता भन्छन्, 'तर, हामीले भनेका कुरा अर्थात् यो भाइरस परिवर्तिन हुनेछ भन्नेतर्फ मानिसका ध्यान आकर्षित भइरहेको छैन।'
नयाँ अनुवांशिक अवस्थाले कोरोना भाइरसको सतहमा 'स्पाइक प्रोटिन' परिवर्तन गरिदिन्छ। यसले गर्दा मानव कोषलाई संक्रमित गरिदिन मद्दत पुग्छ। यस किसिमको अनुवांशिक अवस्थाको भाइरस सन् २०२० को सुरूतिर थाइल्यान्ड र जर्मनीमा देखिएको थियो। त्यसै वर्षको अगस्टमा डेनमार्क र बेलायतमा व्यापक भएको थियो।
'सुरूमा त वैज्ञानिकहरूले नयाँ कोरोना भाइरस यथाअवस्थामै रहन्छ र खोप बनिसकेपछि त्यसले तयार पार्ने प्रतिरोधी क्षमताबाट यो बच्न सक्ने छैन भन्ने नै ठानेका थिए,' लन्डनस्थित क्वीन म्यारी युनिभर्सिटीकी क्लिनिकल एपिडिमियोलोजिस्ट डा. दिप्ती गुरदासानी भन्छिन्, 'तर बितेका केही महिनाको अनुभवले यसमा परिवर्तन हुन्छ भन्ने स्पष्ट पारिदिएको छ।'
पछिल्लो समय ठूलो जनसंख्यालाई खोपका लागि तयार पार्दा यो परिवर्तित भाइरस व्यापक रूपमा फैलिने प्रवल सम्भावना रहेको पनि उनी औंल्याउँछिन्।
भर्खरै तयार भएका थुप्रै रिपोर्टहरूले दुईभन्दा बढी एन्टिबडी मिलेर बन्ने 'मोनोक्लोनल एन्टिबडी' वा 'कनभ्यालेसेन्ट सेरम' दिइएका कुनै पनि व्यक्तिमा रोग प्रतिरोधीले कोरोना भाइरस फेला पार्नै नसकिने अवस्थामा पुग्न सक्ने देखाएको छ। तर मानिसको शरीरभित्रको सम्पूर्ण रोग प्रतिरोधी प्रणाली सौभाग्यवश धेरै नै शक्तिशाली हुन्छ।
अहिले खोप तयार पार्ने फाइजर–बायो एन टेक र मोडर्नाका उत्पादनहरू आफ्नो सतहमा 'स्पाइक प्रोटिन' तयार पार्ने कोरोना भाइरसमा मात्र प्रभावकारी हुन सक्छ। तर, प्रत्येक संक्रमित व्यक्तिले यो प्रोटिनका लागि ठूलो मात्रामा अनि जटिल किसिमका एन्टिबडीको भण्डार लगाउने काम पनि गरिदिन्छ।
'यसको अर्थ भाइरसका अघिल्तिर हजारौं ठूला बन्दुकहरू तेर्सिएका हुन्छन्,' न्यूयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका संक्रामक रोग विशेषज्ञ कार्तिक चन्द्रन भन्छन्, 'छोटकरीमा भन्नुपर्दा कोरोना भाइरसले जतिसुकै उपाय लगाएर भाग्न खोजे पनि हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले पत्ता लगाएरै छाड्छ।'
शरीरको प्रतिरोधी प्रणालीबाट बच्न भाइरसलाई थुप्रै तहमा परिवर्तन हुनुपर्ने हुन्छ र ती प्रत्येक परिवर्तनले शरीरको सुरक्षा प्रणालीको प्रभावकारिता कम पनि पारिरहेको हुन्छ। 'इन्फ्लुएन्जा' जस्ता केही भाइरसले त्यस्तो परिवर्तन असाध्यै छिट्छिटो थुपारेर राखिरहेको हुन्छ। तर, दादुराजस्ता भाइरस भने यस्ता परिवर्तन असाध्यै सुस्त गतिमा थुपार्छन्।
डा. ब्लूमका अनुसार इन्फ्लुएन्जा जस्ता भाइरसले पनि शरीरको प्रतिरोधी प्रणालीबाट बच्न पर्याप्त मात्रामा परिवर्तन हुन पाँचदेखि सात वर्ष लगाउँछ। शुक्रबार मात्रै उनको ल्याबले नयाँ रिपोर्ट प्रकाशित गरेको छ जसले 'कमन कोल्ड कोरोना भाइरस'ले पनि प्रतिरोधी प्रणालीबाट बच्न आफूमा परिवर्तन ल्याउने उल्लेख छ। तर, त्यस्तो परिवर्तन वर्षौं लगाएर हुने पनि रिपोर्टमा प्रष्ट पारिएको छ।
अहिलेको महामारी बेला संक्रमण मात्रा अत्यधिक हुनसक्छ जसले 'न्यू कोरोना भाइरस'मा चाँडै नै विविधता उत्पन्न गरिदिन सक्छ। तर अहिले पनि विश्वको ठूलो जनसंख्या संक्रमणबाट मुक्त अवस्थामै रहनाले वैज्ञानिकहरूलाई आशावादी बनाएको छ।
'शरीरको प्रतिरोधीबाट बच्न सक्रिय तवरले कुनै गतिविधि हुन्छ भने त्यसबाट म धेरै आश्चर्यचकित हुने छैन,' स्वीट्जरल्यान्डको युनिभर्सिटी अफ बर्नकी मोलेकुलर इपिडेमियोलोजिस्ट इम्मा होडक्रोफ्ट भन्छिन्, 'अहिलेसम्म थोरै मात्र मानिस संक्रमित भएको स्थितिमा भाइरसमा त्यस्तो परिवर्तन नदेखिएला। तर लामो समयमा, अझ विशेषगरी धेरै मानिसलाई खोप दिइँदै गर्दा यसले के गर्दोरहेछ भन्ने हेर्न हामी पनि उत्सुक छौं।'
डा. होडक्रोफ्टका अनुसार एक वर्षभित्रै झन्डै ६० प्रतिशत जनसंख्यालाई खोप लगाउने र त्यस क्रममा संक्रमण पनि ज्यादा फैलिन नदिने जुन लक्ष्य लिइएको छ, त्यसले भाइरसमा उल्लेख्य संख्यामा परिवर्तन हुन दिने कमै सम्भावना राख्छ।
यति हुँदाहुँदै पनि वैज्ञानिकहरूले नयाँ विकसित भाइरसतर्फ सुक्ष्म नजर लगाएर परिवर्तन नियाल्नु जरुरी छ किनभने यसले खोपलाई कम प्रभावी पारिदिन सक्छ।
सियाटलस्थित फ्रेड हटचिन्सन क्यान्सर रिसर्च सेन्टरका इभोलुसनरी बायोलोजिस्ट ट्रेभर बेडफोर्डका अनुसार वैज्ञानिकहरूले खोप नवीकरण गर्ने क्रममा अरू भाइरसको परिवर्तन नियमित नियाल्दै आएकामा अब त्यस्तै सजगता कोरोना भाइरसका मामिलामा पनि जरुरी छ।
'जसरी हरेक वर्ष रुघाखोकीबाट बच्न सुइ लगाइन्छ, त्यसरी नै यी तमाम थपिएका कुराको समाधानसहित कोरोनाको पनि सुइ लगाएको कल्पना गर्न सक्नुहुन्छ,' उनी भन्छन्, 'मेरो विचारमा आम रूपमा त्यो नै उपयुक्त हुनेछ।'
अहिलेका निम्ति राम्रो समाचार के भने, जुन प्रविधि फाइजर–बायो एन टेक र मोडर्ना जस्ता खोपले अपनाएका छन्, त्यसले हामीलाई परम्परागत खोपमा भन्दा अझ बढी सुधार र नवीकरणको अवसर दिनेछ। डा. बेडफोर्डका अनुसार नयाँ खोपले ठूलो मात्रामा रोग प्रतिरोधी प्रभाव पनि बढाउनेछ। यसले कोरोना भाइरसलाई आउने वर्षमा थुप्रै परिवर्तनको आवश्यकता रहनेछ। त्यसपछि खोपले फेरि अर्को मोड समातिसक्नेछ।
वैज्ञानिकहरूका अनुसार अहिलेलाई भने 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन' र यस्ता अन्य सरकारी निकायहरूले यस्तो राष्ट्रिय प्रणाली नै तयार पार्नु जरुरी हुनेछ जसले तथ्यांकको भरपर्दो रेकर्ड सुरक्षित राखोस्। उदाहरणका निम्ति खोप लगाइसकेपछि पनि कसैमा यदि संक्रमण देखिन्छ भने त्यस्ता घटना र त्यसका तथ्यांक छुट्नु भएन।
'अब हामीलाई आवश्यक पर्नेबित्तिकै अझ विशेष रूपमा भन्नुपर्दा खोप लगाउने तयारी चलिरहँदा वैज्ञानिक र सरकारहरूका लागि यी तथ्यांक भण्डार भरपर्दो हुनु जरुरी हुनेछ,' डा. होडक्रोफ्ट भन्छिन्, 'तर, आम मानिस भने यस्ता कुरालाई लिएर आत्तिनु जरुरी छैन।'
(द न्यूयोर्क टाइम्सका लागि अपूर्वा मन्दाभिलीले लेखेको स्टोरीको भावानुवाद। यो रिपोर्टका निम्ति लन्डनबाट इसाबेला क्वाइ, ब्रसेल्सबाट माटिना स्टेभिस ग्रिडनेफ र दक्षिण अफ्रिकाबाट सेरि फ्रिन्कले सघाएका छन्।)