ललितपुरका राजीव खड्का दिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा इन्जिनियरिङ पढ्दैछन्। घर आउँदा होस् वा फर्किँदा, सधैं काठमाडौं–दिल्ली बसमै ओहोरदोहोर गर्छन्।
‘हामी विद्यार्थीका लागि बस भाडा सस्तो छ। चालक, सहचालक तथा यात्रु समेत प्रायः नेपाली नै छन्,’ खड्काले भने, ‘दिल्लीबाट काठमाडौं छुट्ने बस चढ्दादेखि नै घरतिरै भएको महशुस हुन्छ।’
बसमा दिल्ली आउजाउ गर्ने खड्काजस्ता विद्यार्थी मात्र होइनन्। धार्मिक पर्यटक, कामदार लगायतको पनि पहिलो प्राथमिकतामा बस नै हो।
यसको मुख्य कारण भाडादर नै हो।
दिल्ली जाने हवाइजहाजको भाडा बसको तुलनामा निकै महँगो छ। काठमाडौंबाट दिल्लीसम्मको हवाइ भाडादर कम्तिमा ६ हजार रुपैयाँ छ।
काठमाडौंबाट दिल्लीका लागि छुट्ने बसको व्यवस्थापन गर्दै आएको मञ्जुश्री सेवा समितिका कार्यालय प्रमूख राजु पौडेलका अनुसार सडक मार्ग प्रयोग गरेर यात्रा गर्नेको संख्या उल्लेख्य छ।
जेठदेखि भदौसम्म खेती तथा वर्षा समय र मध्य कात्तिकदेखि माघसम्म जाडो बढी हुने भएकाले अहिले समय अफसिजन भएको उनले बताए। अफसिजनमा पनि यात्रु संख्या कम नभएको उनी बताउँछन्। असोजदेखि मध्य कात्तिकसम्म दसैं तथा तिहारमा घर आउने तथा फागुनदेखि वैशाखसम्म घुम्न उपयुक्त समय भएकाले सिजनका रुपमा हेरिन्छ।
‘दिल्ली जानेमा यात्रु कमी छैन। सिजनबेला चाप अत्याधिक हुन्छ, एक हप्तादेखि नै बुक गर्नुपर्छ। अहिले अफसिजन भए पनि हरेक दिन जसो बस प्याक हुने गरेको छ,’ पौडेलले भने।
उनका अनुसार काठमाडौंबाट दिल्ली तथा दिल्लीबाट काठमाडौं २२ वटा बस छन्। यीमध्ये नेपाल र भारत सरकारमैत्री दुई-दुई वटा गरी ४ वटा छन् भने अन्य १८ वटा समितिका हुन्।
दिल्लीका लागि बिहानको ९ र १० तथा दिउँसोको १२ बजे गरी दिनमा ३ वटा बस छुट्छन्। यी बस ४४ सिटे हुन्, जसमध्ये हरेक दिन ३५ सिट ‘प्याक’ हुने गरेको पौडेलले बताए।
बस चढ्नेहरुमा दिल्ली लगायतका क्षेत्रमा रोजगारी, अध्ययन, व्यापार तथा उपचार गर्न जानेको संख्या धेरै छ। ‘पढ्न जाने तथा विदामा घर आउने विद्यार्थी, उपचार गर्ने अस्पताल जाने विरामी तथा तिनका आफन्त, उताबाट आयात गरेर यहाँ व्यापार गर्ने मध्यमस्तरका व्यापारी तथा रोजगारीका लागि जाने नेपालीहरु बढी आवातजावत गर्छन्,’ पौडेलले भने।
त्यस्तै यसबाहेक काठमाडौं, लुम्बिनी, मुक्तिनाथ लगायतका तिर्थस्थल भ्रमण गर्न आउने तथा फर्किने भारतीय धार्मिक पर्यटकले समेत बसमै यात्रा गर्ने भएकाले अधिकांश महिना दिल्ली जाने बस भरिभराउ हुने गरेका छन्।
२ वर्षअघि दुई देशका प्रधानमन्त्री (भारतका नरेन्द्र मोदी र नेपालका स्व. सुशील कोइराला) ले राजधानी जोड्ने गरी उद्घाटन गरेदेखि सिधा बस सेवा सञ्चालनमा आएको हो।
यी बस काठमाडौंबाट भैरहवा वा महेन्द्रनगर नाका हुँदै दिल्ली जान्छन्। यी दुई मार्गमा समस्या आएमा नेपालगञ्ज तथा वीरगंज हुँदै जाने गरेका छन्। काठमाडौंबाट यी चारमध्ये जुनसुकै नाका प्रयोग गरिए पनि दिल्लीसम्मको दुरी करिब १२०० किलोमिटरको आसपास नै रहन्छ।गन्तव्यसम्म पुग्न २७ देखि २८ घण्टा समय लाग्छ।
दिल्ली जाने बसको भाडादर तत्कालीन सहमति अनुरुप २ हजार ३ सय १५ भारु अर्थात ३ हजार ७ सय रुपैयाँ छ। यी बसमा एसी, टिभी, फोल्डिङ सिट, वाइफाई लगायत सुविधा छन्। यसबाहेक ट्वाइलेट सुविधा समेत भएको एउटा बसको भाडादर ३ हजार ९ सय रुपैयाँ छ।
यी बस सोमबार बाहेक सबै दिन गुड्छन्। मैत्रीपूर्ण बसको हकमा विभिन्न सडक कर छुट दिइएको छ। अन्य बसले भने भारतीय राजदुतावासबाट अनिवार्यरुपमा ‘रोड पर्मिट’ लिनुका साथै राज्य अनुसार सडक करबापतको शुल्क समेत बुझाउनुपर्छ।
यी बसको अनलाइन बुकिङ गर्न मिल्छ। १६ वर्ष मुनिका बालबालिकाले यात्रा गर्दा अभिभावकसँगै वा एक्लै हुँदा केन्द्रीय बाल कल्याण समितिबाट सिफारिस लिएको हुनुपर्छ।
३० वर्षभन्दा कम उमेरका महिलाको हकमा भने यो नियम अझ कडा छ। महिला बेचबिखन समस्या ध्यानमा राखेर सो उमेर समूहका महिलाले यात्रा गर्दा एक्लै भए प्रयोजन स्पष्ट खुलाउनुपर्नेछ। दुई वा सोभन्दा बढीको संख्या भए नाता प्रमाणीकरण गरेपछि मात्र यात्रा गर्न पाइने छ। काठमाडौंबाहेक पोखराबाट समेत दिल्लीका लागि बस छुट्ने गरेको छ।
दिल्लीका लागि छुट्ने बसमा संख्या उल्लेख्य भए पनि बनारस जाने गाडी भने रित्तै गुड्ने गरेको व्यवसायीले बताएका छन्। ‘दिल्ली जाने बसमा त यात्रु प्याक हुन्छन्। तर बनारसको हकमा भने आर्कषण छैन’, पौडेलले भने।
यातायात व्यवस्था विभागसँगको समन्वयमा मञ्जुश्री सेवा समितिको एउटा तथा उत्तर प्रदेश सरकारको एउटा गरी जम्मा दुई वटा बस काठमाडौँदेखि वनारस गुड्छन्।
यी ३५ सिट क्षमताका छन्, सुविधा दिल्लीका बसमाझैँ छ। त्रुको संख्या भने दश जना विरलै। वनारस जाने अधिकांश यात्रु तिर्थालु हुने पौडेलले जानकारी दिए। ‘दिल्ली जाने यात्रुका विभिन्न प्रयोजन हुन्छन्। वनारस भने तिर्थकै लागि जान्छन्। जहाँ रिजर्भ गरेर वा बस फेर्दै जाँदा पनि सस्तो पर्ने भएकाले यात्रुको संख्या कम छ’ पौडेलले भने।
उनका अनुसार तिर्थ जाँदा धेरैले गाडी रिर्जभ गरेर जाने भएकाले सार्वजनिक यातायातमा कम आकर्षण देखिएको हो। योबाहेक दिल्लीको तुलनामा वनारस जाने भाडादर निकै महँगो छ। भैरहवा नाका हुँदै चल्ने यो बसलाई बनारस पुग्न करिब १६ घण्टा लाग्छ।
काठमाडौंदेखि बनारस दुरी करिब ६ सय किलोमिटर छ। यसको भाडा २ हजार ५ सय ५० रुपैयाँ छ। उत्तर प्रदेश सरकारले आफूखुसी भाडा दर र नियम परिवर्तन गरिरहने भएकाले यो रुटमा दिल्लीझैं सहज नभएको, घाटा खाएर बस चलाइरहेको पौडेलले दाबी गरे।
‘दिल्लीभन्दा आधा दुरीमा रहेको बनारसको भाडा महँगो छ। उत्तर प्रदेशले आफूखुसी भाडा परिवर्तन गरिरहन्छ, यात्रु पनि पाइँदैनन्, अहिलेसम्म घाटा खाएर गाडी चलाइरहका छौँ’, पौडेलले जिकिर गरे।
त्यस्तै प्रदेश सरकारसँग भएको सहमति अनुसार महिनामा १५ ट्रिप भ्याउनै पर्ने अनिवार्य नियम राखिएकाले रित्तै गाडी भएपनि गुडाउनुको विकल्प नभएको पौडेलले बताए।