दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको लागि अस्थायी इन्धन डिपो आउने भएको छ।
पुस महिनादेखि दैनिक विमान सेवा सुरू भएपछि जिल्लाको एकमात्रै विमानस्थलमा अस्थायी इन्धन डिपो ल्याउने निश्चित भएको जानकारी दिइएको हो।
एयरपोर्टमा डिपो स्थापना गर्नका लागि आवश्यक सामानसहित प्राविधिकहरू दाङ आउने तयारीमा लागेको नेपाल आयल निगमका प्रमुख सुशिल भट्टराईले जानकारी दिए।
पुस २४ गतेसम्म इन्धन बोक्ने ट्यांकर र विमानमा तेल भर्ने बाउजर मेसिन टरिगाउँ एयरपोर्टमा आइपुग्ने प्रमुख भट्टराईले बताए।
संघीय संसदका सभामुख कृष्णबहादुर महराले यसअघि नै दाङको एकमात्रै टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना नहुँदासम्म काम चलाउनका लागि अस्थायी इन्धन डिपो ल्याउने वचन दिएका थिए।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्थायी इन्धन डिपो स्थापनाको लागि आफूले पहल जारी राखेको जानकारी दिए।
अस्थायी इन्धन डिपो स्थापना भएसँगै हालको हवाई भाडा घट्ने नगर प्रमुख पाण्डेले जानकारी दिए।
‘इन्धन उतैबाट बोकेर ल्याउनु पर्दा यात्रु थोरै मात्रै बोक्नुपर्ने बाध्यता छ,’ मेयर पाण्डेले भने, ‘त्यही कारण भाडा महँगो पर्न गएको हो।’
इन्धन डिपो स्थापना भएसँगै उनले विमान दैनिक दुई पटक आउने गरी व्यवस्था गर्ने योजना सुनाए।
पछिल्लो समय टरिगाउँ एयरपोर्टको नयाँ टर्मिनल भवन निर्माण गर्नको लागि टेण्डर भइसकेको छ।