दाङको टरिगाउँ एयरपोर्टमा टर्मिनल भवन निर्माण हुने भएको छ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सोमबार टर्मिनल भवनको शिलान्यास गरेका हुन्।
५८ लाख २७ हजारको लागतमा निर्माण सुरू भएको टर्मिनल भवन आगामी असार मसान्तभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ।
नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर युवराज रिजालले नयाँ टर्मिनल भवन २४ मिटर लम्बाइ र १२ मिटर चौडाइको निर्माण हुने जानकारी दिए। तर कहिले भने केही वर्षलाई मात्रै लक्षित गर्दै सानो टर्मिनल भवन निर्माण गर्नु भन्दा दिर्घकालीन सोचका साथ सुविधा सम्पन्न र आधुनिक टर्मिनल भवन निर्माण गर्नुपर्ने बताएका छन्।
‘यो सरकारको दूरदर्शी निर्णय हैन। काम चलाउनेरूपमा मात्रै टर्मिनल भवन निर्माण गर्नुभन्दा दिर्घकालीन भविष्यको लागि अत्याधुनिक बनाउनु ठीक हो,’ तुलसीपुर निवासी एक जना अधिकारकर्मीले भने, ‘आज बनाएको टर्मिनल भवन २०वर्षपछि फेरि अर्को बनाउनुपर्ने गरी निर्माण गर्नु दिर्घकालीन सोच मान्नै सकिँदैन।’
टर्मिनल भवन निर्माणको जिम्मा तुलसीपुरको न्यू आस्ट्रिना निर्माण सेवाका सुरेश आचार्यले पाएका छन्।
टरिगाउँ एयरपोर्टमा वर्षौं पहिले निर्माण गरिएको टर्मिनल भवन जीर्ण अवस्थामा रहेको छ।
टर्मिनल भवन जीर्ण हुँदा यहाँ यात्रुलाई असुविधा मात्रै भएको छैन सुरक्षाको लागि यात्रुको चेकजाँचमा समेत समस्या हुँदै आएको थियो।
नयाँ टर्मिनल भवनमा एयरलान्सको लागि दुइटा अफिसको व्यवस्थापनदेखि आवागमन र प्रस्थान हलहरू पनि निर्माण गरिने इञ्जिनियर रिजालले सेतोपाटीलाई जानकारी दिए।
यात्रुहरूको चेकजाँच पछि नयाँ टर्मिलन भवन बनिसकेका अहिले जस्तो बाहिर निस्कन नमिल्ने खालको भवन निर्माण हुने रिजालले जानकारी दिए।
छिट्टै स्थायी इन्धन डिपोको लागि प्रक्रिया सुरू हुन्छ – मेयर
भवन शिलान्यास पूर्व भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर मेयर पाण्डेले अब दाङको विमानस्थलमा फेरि पनि विमानसेवा नियमित हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे।
प्रदेश नं. ५ को राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औं आधारपत्रमा तुलसीपुर र नेपालगञ्जको विमालस्थलको स्तरोन्नति गर्ने तथा भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रूपमा अगाडि बढाउने भन्ने कुरा आधार पत्रका समेटिसेकेको हुँदा ढुक्क हुने आग्रह गरे
उनले विमानस्थलमा धावनमार्ग विस्तार गरी १५ सय मिटर बनाउन कुनै समस्या नरहेको तथा स्थायी इन्धन डिपो स्थापना गर्नको लागि नजिकैको रहेको महेन्द्र माविको ३ विगाहा जग्गा भाडामा लिन लागेको जानकारी दिए। त्यस्तै उनले निकट भविष्यमै अस्थायी निधन डिपो दाङमा ल्याउन लागेको बताए ।
मेयर पाण्डेले छिट्टै दुइटा ट्याङकर र रिफिलिङ मेसिन दाङ एयरपोर्टको लागि आउन लागेको अवगत गराए। स्थायी डिपो निर्माण भएमा दिनमा दुइटा विमानले नियमित सेवा दिने तथा भाडादर पनि सस्तो हुने उनको दाबी थियो। त्यसका लागि आफूले एक चरणमा यति एयरलाइन्ससँग कुरा समेत गरिसकेको मेयरले बताए।
दैनिक दुइटा विमानले सेवा दिएमा दाङमा पर्यटनको विकास हुने उनको दाबी थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज र दाङ एयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले मौसमको दृष्टिकोणले दाङ एयरपोर्ट नेपालकै उत्कृष्ट विमानस्थल भए पनि मझौला खालका विमान सञ्चालन गर्नको लागि धावन मार्ग विस्तार गरी १५ सय मिटर पुर्याउन आवश्यक रहेको बताए।
उनले सुरू- सुरूमा नेपालगञ्ज एयरपोर्टमा १० हजारसम्मको टिकट दर रहेको भए पनि आज धावन मार्ग विस्तारसँगै टिकेको दर घटेर तीन हजारसम्म आएको हुँदा धावनमार्ग विस्तार गर्न सके दाङ एयरपोर्टको पनि भाडा घट्ने बताए।
‘जबसम्म ठूलो विमान आउने छैन तबसम्म भाडा घट्दैन र जबसम्म भाडा घट्दैन तबसम्म विमानस्थलको भविष्य राम्रो हुन सक्दैन,’ प्रमुख ठाकुरले भने।