तुलसीपुर ११ नवलपुरका झविलाल खत्री आफ्नी अशक्त आमालाई बोकेर आइतबार मालपोत कार्यालय तुलसीपुर पुगे।
तर काम नहुँदा उनी आमालाई बोकेर खालि हातनै घर फर्किए। आमाको स्वास्थ्य अवस्था बताउँदै मालपोत कार्यालयका प्रमुख नरेशकुमार खड्कासंग काम गरिदिन बिन्ती गरे। तर पनि काम भएन्।
कार्यालय प्रमुख खड्काले जति अशक्त भएपनि मंगलवार फेरि आउनु पर्ने अभिब्यक्ति दिए। आमा र बहिनीसहित आएका खत्री जग्गाको भागबण्डा गर्न मालपोत कार्याल पुगेका थिए।
तुलसीपुरको विजौरीको रनियापुर निवासी ४४ बर्षीय चन्द्रबहादुर विक र पश्चिम दाङको बबई गाँउपालिका वडा नं. ७ चरकमटिया निवासी ३८ बर्षीया विष्णु भण्डारी मालपोत कार्यालय तुलसीपुरमा धाउन लागेको पनि धेरै दिन भइसक्यो।
विकले मालपोत कार्यालय धाउन थालेको २० दिन भइसकेको छ भने भण्डारीले कार्यालयमा बैशाख ११ गतेदेखि धाउँदै आएको प्रतिक्रिया दिए।उनीहरु पनि मालपोत कार्यालयमा जग्गाको किनबेचका लागि आएका सेवाग्राहीहरु हुन।
‘कर्मचारीले आज आउनुस् भोलि आउनुस् भन्दै २० दिन गुजारी सके,’ विकले भने ‘ कहिले सफ्टवयरले काम गरेन भन्छन्, कहिले भोल्टेज पुगेन भन्छन् । एउटा कामको लागि कतिदिन धाउनु पर्ने हो, म त दिकदार भइसके।’
भण्डारी पनि जग्गा खरिद गरेको हुँदा त्यो पास गर्न यसरी धाइ रहेका हुन। तर जतिदिन धाउँदा पनि उनको काम आजसम्म भएको छैन्। उनी भन्छन्, ‘ एक त दरवन्दी अनुसार कर्मचारी नहुनु, अर्कौ भएका कर्मचारी पनि नयाँ प्रविधिसंग अभ्यस्त नहुँदा काममा ढिलाई भइरहेको मैले बुझेँ’ उनले नयाँ प्रविधिवारे कर्मचारी अनभिज्ञ हुँदा आफूजस्ता धेरैले सास्ती खेप्नु परेको बताए।
‘नजान्ने कर्मचारीलाई किन कम्प्यूटर दिनु? जान्नेलाई दिए यो समस्या नै हुने थिएन । हाम्रो काम फ्याट्टै हुने थियो,’– भण्डारीले भने।मालपोतमा सानो कामका लागि दिन दिनै धाउने यी त केही उदाहरण मात्रै हुन।
मालपोत कार्यालय तुलसीपुरमा बैशाख ३ गतेयता अनलाईन सेवा सुरु भएपछि समयमै काम नुहँदा यस्तो समस्या झेल्ने दर्जनौँ सर्वसाधारणले दिनुहूँ कामको लागि धाइरहनु परेको छ।
मालपोत कार्यालय तुलसीपुरको त्यही गुनासो सुनेर आइतवार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले मालपोत कार्यालय तुलसीपुरको सेवा प्रवाहमा भएको ढिलाई हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।
तरुण दलका जिल्ला अध्यक्ष टिकारामा घर्ती, नेविसंघका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी र राप्ती बबई क्याम्पसका स्ववियु सभापति अनिल कार्कीले आइतवार संयुक्तरुपमा कार्यालय प्रमुख नरेशकुमार खड्कालाई जनतावाट आएको गुनासो तत्काल सुधार्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन।
तरुण अध्यक्ष घर्तीले एक महिना अगाडि मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा सुरु भएपछि समयमै काम नभएको व्यापक जनगुनासो आएको हुँदा त्यो गुनासो तत्काल सम्वोधन नभए चुप लागेर नबस्ने चेतावनी दिए।
‘कतिपय सेवाग्राहीवाट १५ सयदेखि १५ हजारसम्म रकम मागेको भन्ने गुनासोपनि सुन्नमा आएको छ,’ अध्यक्ष घर्तीले भने ‘काममा भइरहेको ढिलासुस्ती र सेवाग्राहीबाट मागिने रकमबारे कार्यालय प्रमुखको नाताले विशेष भूमिका खेल्न सक्नुपर्छ।’
तरुण र विद्यार्थी नेताको जवाफ मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्काले तत्कालै दिए।उनले भने ‘सेवाग्राहीबाट रकम मागेको भन्ने कुरा सरासर झुट हो । यदी कुनैपनि कर्मचारीले सेवाग्राहीबाट रकम मागेको प्रमाण उपलब्ध गराए त्यस्ता कर्मचारीलाई म तत्काल कारवाहीको लागि आँफै सबैभन्दा पहिला सिफारिस गर्ने छु।’
अनलाईन सेवा सुरु गर्दा सुरुका दिनहरुमा विभिन्न प्रविधिक कारणले काममा केही ढिलासुस्ती भएको स्वीकार गर्दै कार्यालय प्रमुख खड्काले कर्मचारीको अभावको परिणाम भएको दाबी गरे।
सुरुमा नयाँ प्रविधिवारे कर्मचारीलाई समेत राम्रो ज्ञान नहुनु लगायत केही प्राविधिक कारणले समस्याहरु भएपनि जेठ १ गतेदेखि मालपोतका काममा क्रमिक रुपमा सुधार हुँदै सेवाप्रवाह चुस्त बन्दै गएको प्रमुख खड्काले दाबी गरे।
उनले यस्तो दाबी गरिरहँदा मालपोत कार्यालयका सेवाग्राही भने आफ्नो काम नभएर निरन्तर कार्यालय धाइरहनुपरेको गुनासो गरिरहेका छन्।
‘हामी विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पनि खटेर काम गरेका छौं,’ खड्काले भने‘ त्यो हाम्रो प्रयास जनतलाई कसरी छिटो छरितो सेवा दिन सकिन्छ भन्न कै लागि हो।’
प्रबिधि र जनशक्तिको अभावका बाबजुत पनि मालोपात कार्यालय तुलसीपुरले अनलाईन सेवा सुरु भएको एक महिनको अवधिमा ९ सय ५२ थान लिखत पारित गरेको, ५५ वटा मुद्दाको निर्णय गरेको र ५ सय ५६ अन्य कामहरु गर्न सफल भएको हुँदा त्यो अनुपात अन्य महिनाको जस्तै सामान्य अवस्थामा पुग्दै गरेको दाबी गरे।
मालपोत कार्यालय तुलसीपुरको कार्यक्षत्रभित्र तुलसीपुर उपमहानगरपालिका, दङ्गिशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका र बबई गाँउपालिका पर्दछन्।
त्यसयता सयममै काम नहुँदा मालपोत कार्यालयमा दिनहुँ बाक्लो उपस्थिति हुने गरेको छ। मालपोत कार्यालय तुलसीपुरका १६ जना कर्मचारी मध्ये हालसालै समायोजन भएर संघ र प्रदेशमा ४ जना कर्मचारी गएपछि अब जम्मा १२ जना कर्मचारीले काम गरिरहेको प्रमुख खड्काले बताए।
जिल्लाको ४५ प्रतिशत जग्गाको कारोवार हुने मालपोत कार्यालय तुलसीपुरमा जम्मा १२ जना कर्मचारी मात्रै छन भने ३५ प्रतिसत कारोवार हुने मालपोत कार्यालय घोराहीमा २९ जना र २२ प्रतिसत जति मात्र काम हुने लमहीमा १२ जना कर्मचारी कार्यरत रहेको नजिर प्रस्तुत गर्दै कार्यालय प्रमुख खड्काले दरवन्दी अनुसार कर्मचारी उपलब्ध गराइदिन दर्जनौं पटक पत्राचार गर्दा पनि कुनै सुनुवाई नभएको बताए ।