बुटवल देविनगरकी तुल्सा पोखरेल विगत एक सातादेखि बुटवल हाटबजारको सडक पेटीमै व्यापारमा व्यस्त छिन्।
वर्षभरि हाटबजारभित्रै तरकारीको व्यापार गर्दै आएकी तुल्साले तिहार लागेयता तिहार लक्षित वस्तुको व्यापार सुरू गरेकी हुन्।
चाडपर्वको समयमा तरकारीभन्दा पर्व लक्षित वस्तुको विक्री धेरै हुने र नाफा पनि हुने भएकोले अहिले तिहारको लागि चाहिने वस्तुको व्यापार सुरू गरेको उनले बताइन्।
सानो प्लाष्टिकको त्रिपाल बिच्छाएर सडक पेटीमै पसल थापेकी उनले एकदिनमा १० देखि १५ हजारसम्मको व्यापार हुने र २० प्रतिशत जति नाफा निस्किने बताउँछिन्।
‘व्यापार त राम्रै हुन्छ, बिहान १२/१५ हजारको सामान राखियो भने साँझसम्म त्यसबाट २/३ हजार नाफा निस्किन्छ,’ उनले भनिन्।
श्रीमान शंकर पोखरेलसँगै सडक पेटीमा पसल चलाउँदै आएकी तुल्साले अहिले तिहारमा धेरै प्रयोग हुने फूल, चिउरीको पात, सिन्का, विमिरो जस्ता वस्तु विक्री गर्दै आएकी छन्।
बुटवल दिपनगरकी सावित्री घिमिरेले पनि तिहार लागेपछि फूल, पात र विमिरो जस्ता वस्तु विक्री गर्दै आएकी छन्।
ट्राफिकचोकको सडक पेटीमा पसल थापेर बसेकी सावित्रीले अरु समयमा पनि मौसम अनुसारका वस्तु विक्री गर्दै आएको बताइन्।
‘चाडपर्व र मौसम अनुसारका वस्तुहरूको विक्री पनि धेरै हुन्छ, धेरै सामान विक्री गर्दा थोरै थोरै भए पनि फाइदा धेरै हुन्छ,’ उनले भन्छिन्।
तुल्सा र सावित्री मात्र होइन तिहार नजिकिँदै गर्दा बुटवल बजारमा तिहारका लागि आवश्यक वस्तुहरूको खरिद विक्री बढ्दै गएको छ।
तिहारको लागि आवश्यक वस्तुको खरिद विक्री बढेसँगै तिहार लक्षित सामग्री विक्री गर्ने मौसमी व्यापारीहरूको संख्या पनि बढ्दै गएको छ।
तिहार पर्वमा फूल, पात, विमिरो, काक्रा, सिन्का, ओखर लगायतका वस्तु सबभन्दा धेरै प्रयोग हुने गर्दछ।
बुटवल नजिकै रहेको पाल्पा, गुल्मी तथा अर्घाखाँची जिल्लामा उत्पादित फूल, चिउरीको पात, सिन्का, विमिरो, काक्रा जस्ता वस्तुहरूले पनि तिहारमा मूल्य पाउने गरेका छन्।
पाल्पाको तिनाउ गाउँपालिका २ दोभानकी पुनमाया जिसीले घर वरिपरि फुलेको फूल विक्री गरेर यसपटकको तिहार मनाउने सोचमा छिन्।
एकसय वटा फूलका मुठा बोकेर आइतबार बुटवल हाटबजार आएकी पुनमायाले त्यसैलाई विक्री गरेको पैसाले घरमा आवश्यक वस्तुको जोहो गर्दै आएको बताइन्।
बुटवलको मुख्य बजार क्षेत्रमा मात्र नभएर फुटपाथहरूमा पनि यतिबेला तिहारका लागि आवश्यक पर्ने पूजाका सामग्रीहरू, सप्तरंगी टीका, घर आँगनमा सजाउन प्रयोग हुने विभिन्न प्रकारका बत्तीहरूका साथै, फूलहरूले सजिसझाउ गरिएको छ।
फलफूल, फूल, भाइमसला, लक्ष्मी, गणेश जस्ता देवीदेवताका मूर्ति, तस्बिर लगायतका सामग्रीले बजार तथा सडक पेटी ढाकेको छ।
तिहारका लागि आवश्यक सामानको माग बढेपछि अरुसमय अरु सामानको व्यापार गरिरहेका व्यापारीहरू पनि मौसमी व्यापारमा उत्साहित देखिन्छन्।
विशेषगरी ठेला तथा सडकपेटीमा तरकारीको खुद्रा व्यापार गर्नेहरू यतिबेला, फूल, माला, पात, विमिरो, टीका लगायतका सामानको व्यापारमा लागेका छन्।
तिहारको समयमा तरकारीभन्दा पात र फूल खोज्दै आउनेहरू धेरै हुने भएकोले तिहारका लागि आवश्यक सामान बेच्ने गरेको हाटबजारमा व्यापार गर्दै आएकी खगिसराले बताइन्।
उनले तिहारमा आवश्यक पर्ने टपरी बनाउन नजान्नेहरूलाई टपरी बनाएर समेत विक्री गर्ने बताइन्।
लुम्बिनीका राधेश्याम मुराउ कमलको फूल विक्री गर्न आइतबार बिहानै बुटवल आइपुगेका थिए। लक्ष्मीपूजाको लागि कमलको फूल सबभन्दा राम्रो हुने भन्दै उनले उपभोक्तालाई लोभ्याउँदै थिए। ‘लक्ष्मी पनि कमलको फूलमा बस्छिन्, लक्ष्मीपूजाको लागि कमलको फूल त अनिवार्य हुन्छ नि,’ उनले भने।
लुम्बिनी क्षेत्रका तालतलाउ, पोखरी तथा पानी जम्ने स्थानमा प्रशस्त पाइने कमलको फूल आइतबारमात्रै दुई सय बढी ल्याएको उनले बताए।
गाउँमा प्रतिगोटा ५ रुपैयाँमा खरिद गरेको कमलको फूललाई बुटवल ल्याएर प्रतिगोटा ५० रुपैयाँमा विक्री गर्ने गरेको उनले बताए।