नेपालको महत्वपूर्ण र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाईभर्सन आयोजनाको पहिलो चरणको काम पूरा भएको छ। पहिलो चरण अन्तर्गत सुरुङको निर्माण कार्य पूरा भएको हो।
सुरुङ निर्माणको जिम्मा पाएको चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि कोभेकले २०७४ साल कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो। सिँचाइ विभाग र कोभेकबीच गरिएको सम्झौताअनुसार हात्तिखालबाट सुरु गरिएको सुरुङलाई भेरीगंगा ११ चिप्लेसम्म पुर्याइएको हो।
भेरी बबई डाईभर्सन आयोजनाका सिनियर डिभिजन इन्जिनियर तुल्सिराम भट्टराईले संघीय सरकार मातहत बहुउद्देश्यीय आयोजनाको रुपमा निर्माण भईरहेको आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ निर्माण गर्ने काम पूरा भएको जानकारी दिए।
यसपछि दोश्रो चरणको कार्यअन्तर्गत बाँध, पावर हाउस, पेनस्टिक र सर्ज स्याफ्ट जस्ता सिभिलजन्य पूर्वाधारको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएर निर्माण व्यवसायीले काम सुरु गरिसकेको भट्टराईले बताए।
दोश्रो चरणको कामअन्तर्गत भेरी नदीमा १ सय १६ मिटर लामो ब्यारेज बनाइने छ भने बबई नदि किनारमा पावर हाउस निर्माण हुनेछ। यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ।
करिब ४ सय गिगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गर्ने लक्ष्य रहेको यो आयोजनाबाट विद्युत उत्पादन पछि निस्किएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई पुर्याउने भट्टराईले जानकारी दिए।
‘यो आयोजना निर्माण पछि भेरी नदीको ४० क्यूबेक पानी बबई नदिमा खसालेर त्यसबाट झण्डै ४८ मेघावाट विद्युत निकालिने छ,' भट्टराईले भने, 'त्योसँगै प्रदेश ५ का बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाई पुर्याउने लक्ष्यका साथ काम भईरहेको छ।’
भेरी नदीमा बाँध निर्माणपछि पनि यससँग सम्बन्धित हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकल सम्बन्धि निर्माण कार्य गर्नुपर्ने भएकाले, त्यसको लागि समेत ठेक्का व्यवस्थापन गर्न निर्माण व्यवसायी छनोटको चरणमा रहेको उनले बताए।
आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायका अनुसार यो आयोजना एउटा नदीबाट अर्को नदीमा पानी स्थानान्तरण गर्ने (भेरीबाट बबई नदिमा) नेपालकै पहिलो ठूलो आयोजना हो भने यहाँक प्रयोग गरिएको प्रविधी समेत नयाँ भएपनि अत्यन्त सफल सावित भएको छ।
यो आयोजना निर्माणमा आधुनिक टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको सहायताले सुरुङ खनिएकोले तोकिएको समयभन्दा छिटो निर्माण पूरा भएको उपाध्यायले दाबी गरे।
‘अहिलेसम्म जतिपनि सुरुङ निर्माण भईरहेका थिए, ति सबै परम्परागत (ड्रिलिङ र ब्लाष्टिङ) प्रविधिबाट गरिन्थे, जसले गर्दा अत्यन्त ढिलाई हुने गर्थ्यो,’ उनले भने, ‘तर यो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको प्रयोगका कारण १८ महिनामा १२ किलोमिटर सुरुङ निर्माण पूरा भएको छ।’
उपाध्यायले टिबिएम प्रविधीको प्रयोगले सुरुङ निर्माण गर्दा छिटो सकिनुका साथै यसको सफल प्रयोगले अन्य आयोजनामा पनि यस्ता प्रविधिको प्रयोग गर्न सकिने विश्वास थपिएको बताए। विशेषगरी नेपालको सडक निर्माणमा यो प्रविधिको प्रयोग गर्न सके एउटै सडक निर्माण गर्न वर्षौ पर्खिनु पर्ने समस्या अन्त्य हुने उनको भनाई छ।
यो बहुउद्देश्यीय आयोजना भएको कारण संसोधित गुरुयोजनाअनुसार अहिले यसको लागत अनुमान ३३ अर्ब पुगेको छ। त्यसमध्ये ८ देखि ९ अर्ब टनेल निर्माणमा खर्च हुने र बाँकि रकम पावर हाउस, बाँध निर्माण लगायत ईलेक्ट्रोमेकानिकल र हाईड्रोमेकानिकल जस्ता पूर्वाधारमा खर्च हुने सिनियर डिभिजन इन्जिनियर भट्टराईले जानकारी दिए।
भेरीको पानी लगेर बबईमा खसालीसकेपछि बबईमान खोलामा समेत ४/५ किलोमिटरको टनेल निर्माण गरी त्यहाँ पुगेको पानी नेपालगञ्ज सम्म पुर्याउने योजनाका साथ अध्ययन सुरु भईसकेको उनले बताए।
‘यो आयोजना प्रदेश नम्बर ५ लाई अझै बढि लाभ दिने र प्रदेशकै गौरव गर्न लायक आयोजना बन्न सक्छ। हामी अहिले त्यसको अध्ययन गरिरहेका छौ,' उनले भने, ‘अध्ययन पछि त्यो आयोजनालाई कसरी अगाडी बढाउने भन्ने विषयमा थप अध्ययन र छलफल गरिने छ।’
त्यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक, आर्थिक विकास तथा सुरक्षाका लागि भेरी र बबई करिडोरमा सिँचाइ, तटबन्ध लगायतका विभिन्न योजनाहरु निर्माण हुनेछन्। भट्टराईका अनुसार आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सिँचाइ विभागले भेरी बबईबाट उत्पादित विद्युतबाट वार्षिक करिब चार अर्ब तीन करोड आम्दानी गर्ने लक्ष्य राखेको छ। त्यस्तै बबई नदीमा खसेको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफलमा बाह्रे महिना सिँचाइ सुविधा पुगेपछि त्यहाँको कृषि उत्पादनबाट अप्रत्यक्ष रुपमा वार्षिक तीन अर्ब १० करोड आम्दानी गर्ने दाबी गरेको छ।