कृषि मन्त्री घनश्याम भुषालले किसानको उत्पादन विक्री हुने वातावरण बनाउन सरकार लागिपरेको बताएका छन्।
उत्पादित वस्तुहरू विक्री नभएमा त्यसको खरिद र बजारको व्यवस्थापनको जिम्मा सरकारले लिनेगरी तयारी भइरहेको दाबी उनले गरे।
चितवनमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री भुषालले दुग्ध क्षेत्रको समस्या पनि त्यसैगरी हल गरिने बताए।
दूध उत्पादक किसानहरूले उत्पादन विक्री नभएर खेर जाँदा पनि सरकारले वास्ता नगरेको, गाई, भैंसीमा रोग लाग्दा उपचार नपाएको, दुग्धजन्य वस्तुको आयात नियन्त्रण नभएको लगायतका समस्याहरू मन्त्रीसमक्ष राखेका थिए।
जवाफमा मन्त्री भुषालले देशमा कृषिको व्यवस्थापन कसरी गर्ने भन्ने आधार नै तय नभएका कारण समस्या भएको बताए।
उनले नेपालको कृषि क्षेत्र संकटमा रहेको भन्दै कृषिको व्यवस्था नै परिवर्तन गर्नुपर्ने भएकाले केही समय लागेको बताए।
‘हिजो हाम्रोमा विदेशीको सहयोगमा आधारित व्यवस्था थियो, पछि हामीले सबै कुरा बजारलाई छाडिदियौं। बजारलाई छाडिदिएपछिको अवस्था अहिलेले हामीले भोगिरहेका छौं, एक ठाउँमा सुधारेर हुनेवाला छैन,’ उनले भने, ‘अहिले हामी नेपाललाई आवश्यक पर्ने व्यवस्था लागू गर्न प्रयास गरिरहेका छौं।’
उनले कृषि क्षेत्रको सुधारका लागि धेरै योजना बनिरहे पनि कोभिड–१९ को महामारीका कारण कार्यान्वयनमा ढिला भइरहेको बताए।
‘गत वर्षको बजेटमा हरेक वडामा कम्तीमा एक जना प्राविधिकको व्यवस्था गर्ने र सबैले कृषि ऋणमा सहज पहुँच पाउनुपर्ने कुरा समावेश गर्नुपर्ने थियो तर सकिएन,’ उनले भने, ‘आजको कृषि व्यवस्थालार्य नयाँ जगमा उभ्याउन सक्ने बजेट बनाउन सकिएको छैन, दुनियाँका सामुन्ने भन्न सक्छु। आगामी दिनमा जंगी सुधारका कामहरू गर्नुपर्छ म तयार छु।’
मन्त्री भुषालले ३५ वर्ष पुरानो तथ्यांक आधारमा योजना बनाउनुपर्ने बाध्यता रहेको भन्दै सरकारले कृषि कर्म र किसानको वास्तविक तथ्यांक लिएर सोको आधारमा नयाँ योजना अघि सार्ने बताए।
उनले कृषि कर्म गर्ने मान्छेलाई विस्थापित नगर्न नीतिगत आधार तयार भएको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याएपछि किसान र कृषि क्षेत्रका श्रमजीवीले खान, बस्न, लगाउन, परिवार पाल्न सक्ने दाबी गरे।
‘धानमा राम्रो काम भएको प्रतिक्रिया आएको छ। दूध क्षेत्रमा पनि यही संकल्पका साथ अघि बढ्छौं,’ उनले भने, ‘तपाईंहरू नथाक्नुहोला, म पनि थाक्दिनँ।’
अन्तर्क्रियामा उपस्थित किसानहरूले दिनरात मेहेनत गरेर उत्पादन गरेको दूध बिक्री नहुँदा ठूलो मर्का परेको गुनासो गरेका थिए।
उनीहरूले दूध प्रशोधन कारखाना सञ्चालन गरी किसानको उत्पादनको उचित मूल्य निर्धारण गर्नुपर्ने माग गरे।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटाकाअनुसार लकडाउनयता दूधको उत्पादन ३३ प्रतिशतले घटेको छ।
‘भएको उत्पादन पनि विक्री हुन सकेको छैन,विक्री भएको दूधको पनि महिनौंदेखि पैसा पाइएको छैन,’ देवकोटाले भने, ‘हामी कसरी यो पेशामा लागिरहने सरकारले भनिदिनुपर्यो।’
नेपालमा दैनिक १९ लाख लिटर दूध उत्पादन हुने गरेको छ। चितवनमा मात्रै ३ लाख १५ हजार लिटर दूध दैनिकरूपमा उत्पादन हुने गर्छ। करिब ५ लाख परिवार यो पेशामा आवद्ध रहेको तथ्यांक संघसँग छ।
देवकोटाकाअनुसार दैनिक ४ करोड रुपैयाँ भन्दा बढीको कारोबार दूध व्यवसायमा हुने गरेको छ।
‘दूध व्यवसायबाट धेरै किसानको परिवार चल्दै आए पनि पछिल्ला दिनमा निराशा बढेको छ,’ चितवनको भण्डारास्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, ‘लम्पीस्किन रोग लागेर गाई सखाप हुँदा पनि सरकार देखि बीमा कम्पनी कसैले हेरेन।’
अर्का व्यवसायी शंकरराज राजभण्डारीले कृषि तथा पशुपालनका लागि सरकारले दिने अनुदान वास्तविक कृषक समक्ष पुग्न नसकेको गुनासो गरे।
सरकारले वेवास्ताले गाई, भैंसीसँगै किसान पनि मर्ने अवस्था आउन थालेको भन्दै किसानहरूले कृषकमैत्री नीति ल्याउन मन्त्रीसँग माग गरेका थिए।