नेपाल नागरिक उड्डयन प्राधिकरणले दाङ-काठमाडौं हवाई भाडा घटाएको छ।
बिहीबारदेखि लागू हुने गरी भाडादर केही घटाइएको प्राधिकरणले जनाएको छ।
नयाँ भाडादर ५ हजार ७ सय ७० रूपैयाँ र ६ हजार ८ सय १० रूपैयाँ निर्धारण गरिएको टरिगाउँ एयरपोर्ट दाङका प्रमुख कैलाश शर्माले सेतोपाटीलाई जानकारी दिए।
यसअघिको भाडादर ७ हजारदेखि सुरू भई ९ हजार ८ सय रूपैयाँसम्म थियो।
‘भदौ १० देखि लागू हुने गरी कम्तीमा १२ सयदेखि ३ हजारसम्म भाडा घटाइएको छ,’ शर्माले भने, ‘यात्रुको गुनासोको आधारमा भाडादर केही घटाइएको हो।’
महँगो भाडाका कारण दाङ, सल्यान, रोल्पा, प्यूठान लगायतका अधिकांश यात्रु भैरहवा वा नेपालगञ्ज हुँदै काठमाडौं आउने जाने गर्दै आएका थिए।
दाङबाट यात्रा गर्नुभन्दा बाँकेबाट यात्रा गर्दा भाडादर सस्तो पर्ने तथा पैसा बचत हुने हुँदा यात्रु बाँके जाने गर्छन्।
दाङ एयरपोर्टका प्रमुख शर्माले पछिल्लो समय यात्रु अभाव हुन थालेपछि यात्रु आकर्षित गर्न भाडा घटाउनु परेको सेतोपाटीलाई बताए।
‘दाङबाट काठमाडौं जाँदा झन्डै ७ हजारभन्दा कममा नहुने स्थिति थियो,’ शर्माले भने, ‘तर, नेपालगञ्जबाट काठमाडौं जान ३ हजार भए पुग्ने भएपछि धेरै यात्रु उतै आकर्षित भएको हाम्रो बुझाइ हो।’
दाङ एयरपोर्टमा सोमबार र शुक्रबार बाहेक हप्ताको पाँचै दिन उडान हुँदै आएको छ।
निश्चित स्केड्युल नभए पनि बिहान साढे ८ बजेदेखि बिहान सवा ९ बजेसम्म प्राय: नेपाल एयरलाइन्सको ट्विनअटर विमानले उडान भर्दै आएको छ।
हाल अस्तित्वमा रहेको जिल्लाको एकमात्रै टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार हुन नसक्दा १८/१९ सिट क्षमताभन्दा ठूला प्लेन दाङमा अवतरण हुन सक्दैनन्।
लामो समयदेखि एयरपोर्टको धावनमार्ग विस्तारको कुरा चल्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन।
तत्कालीन माओवादी नेता लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री भएको समयमा टरिगाउँ एयरपोर्टको धावनमार्ग लम्बाई ७५० र चौडाइ ३० मिटर कालोपत्रे गरिएको छ।