गत आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय रिपोर्टअनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा छ।
गत आर्थिक वर्षमा शोधनान्तर स्थिति भने १ अर्ब २३ करोडले बचतमा आएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा थियो।
९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स
गत आर्थिक वर्षमा रेमिट्यान्स ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ। अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेको थियो।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो।
१३ खर्ब ९८ अर्बको ब्यापार घाटा
गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा देशको कुल वस्तु निर्यात ४४.४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा १४१ अर्ब १२ करोडको बस्तु निर्यात भएको छ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ।
बस्तु आयात भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २८.७ प्रतिशतले वृद्धि भएको छ। कुल १५ खर्ब ३९ अर्ब ८४ करोडको बस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
गत आवमा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेकोछ। अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो।