हेटौंडाका उद्योगहरूले डेडिकेटेड फिडर विद्युत लाइन प्रयोगबापत रकम नतिरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, हेटौंडाले जनाएको छ।
केन्द्रका अनुसार उद्योगहरूले वर्षौंदेखि महसुल तिरेका छैनन् र अर्बौं बक्यौता भइसकेको छ।
प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगहरूलाई पटक पटक पत्र पठाए पनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमुख शशिभुषण साहले जानकारी दिए।
प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत आपूर्ति बन्द गर्न सकेको छैन। सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ।