नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित नहुने बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको एक कार्यक्रममामर्फत गभर्नर अधिकारीले शेयर धितोमा ऋण लिइ शेयरमै लगानी गर्नेलाई लक्षित गर्दै उक्त नीति लिइएको बताएका हुन्।
‘व्यावसायिक प्रयोजनका लागि लिइने कर्जामा हाम्रो सरोकार होइन, तर वित्तीय क्षेत्रमा उपलब्ध स्रोत औद्योगिक क्षेत्रमा सदुपयोग होस् भन्ने मात्रै हो,’ उनले भने।
गभर्नर अधिकारीले राष्ट्रिय उत्पादन बृद्धिमा केन्द्रीय बैंकको चासो रहने उल्लेख गरे। औद्योगीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा राष्ट्र बैंकले सधैं सहयोग गर्ने बताए।
राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड रूपैयाँ तथा समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको छ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंकले गत वर्ष लिएका नीतिले प्रभावकारी काम गरेको उल्लेख गरे।
उनले तरलताको उपलब्धता र ब्याजदर चिन्ताको विषयको रुपमा रहेकाले सचेत हुन आग्रह गरे। परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले अब डिजिटल बैंकिङतर्फ अघि बढ्नुपर्ने उल्लेख गरे।