भारतीय प्रख्यात योग गुरु सद्गुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीबीच नेपालको पर्यटन प्रर्वद्धनका विषयमा शनिबार छलफल भएको छ।
एक साता अघि नेपाल आएका सद्गुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रर्वद्धनका विभिन्न विषयमाथि छलफल भएको हो।
छलफलमा सदगुरुले नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए। प्रकृतिको अनुपम उपहार नेपाल स्वर्ग जस्तै भएको उनको भनाई थियो।
‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ?,’ उनले भने, ‘आवश्यक छ त यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन। त्यसो भयो भने नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन।’
नेपाल विश्वका अरु देश जस्तो नभई अलौलिक आनन्द प्राप्त गर्न सकिने देश भएकाले मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकासमा ध्यान दिन सुझाए।
बोर्डका कार्यकारी निर्देशक रेग्मीले कोभिडबीच सद्गुरुको नेपाल भ्रमणले सकारात्मक सन्देश प्रवाह हुने बताए। नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्नेसमेत बताए।
यस्तै उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको उल्लेख गरे।
रेग्मीले खप्तड जस्ता ठाउँमा सद्गुरुलाई योगा सञ्चालन गर्न आग्रह गरे। सद्गुरु लिमि भ्याली हुँदै कैलाश मानसरोवरको यात्रा गरी काठमाडौं फर्किएका हुन्।