२०७७ असार मसान्तसम्म नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।
जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड भित्रिएको छ।
सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आज प्रत्येक्ष वैदेशिक लगानीसम्वन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो। आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्येक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुमध्ये १९८ वटा कम्पनीको नमुना छनौट गरी सर्वेक्षण प्रतिवेदन तयार पारिएको बैंकले जनाएको छ।
जसअनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्येक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ५२ करोड कायम भएको छ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४. ४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ। चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकाले कुल प्रत्येक्ष वैदेशिक लगानीमा वृद्धि आएको छ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको छ। औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत लगानी देखिन्छ।
कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ।