कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. १ र ३ को क्षेत्रमा फैलिनेगरी प्रस्ताव गरिएको दोधारा चाँदनी सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकीको निर्माण सन्दर्भमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) शुरु भएको छ।
मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रको प्रस्तावित करिब २८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटफार्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचनाको निर्माण हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए।
सोही क्रममा सचिव भट्टराइले निर्माणअघिका वातावरणीय प्रभाव मूल्यांकन अध्ययन लगायत सम्पूर्ण आवश्यक कार्यहरु शिघ्र सम्पन्न गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई निर्देशन समेत दिए।
हाल महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलदेखि पारि करिब १२०० मिटरको दुरीमा उक्त सुख्खा बन्दरगाह निर्माण हुन लागेको छ। सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरु योजना समेत तयार भइसकेकोले हाल वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको कार्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिबाट शुरु गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।
सो कार्यको लागि परामर्शदाता समेतको छनौट भइ कार्य अघि बढेको छ। सुदूर पश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनार एवम् दोधारा चाँदनी नगरपालीका प्रमुख वीरबहादुर सुनारले सुख्खा बन्दरगाहको शिघ्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक सम्पूूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
वातावरणीय प्रभाव मूूल्यांकन अध्ययन गर्ने विशेषज्ञ प्राविधिक टोलीका साथ निर्माण स्थलको निरीक्षणको क्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव डा. नारायण प्रसाद रेग्मी, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे, सुदुर पश्चिम प्रदेशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रादेशीक कार्यालय प्रमुख कृष्ण प्रसाद सापकोटा, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, नेपाल इन्टमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल लगायतको उपस्थिति थियो।