पर्यटन व्यवसायीले सरकारले तत्काल पर्यटकहरूलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।
कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टिनका कुरामा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन्।
होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरूमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरू भित्र्याउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए।
उनले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरूका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्री भिसा लगायतका कुराहरूलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरूको माग रहेको बताए।
प्रथम उपाध्यक्ष शाहले भने, ‘हामी सर्भिस इण्डस्ट्री हौं, हामीले देश तथा विदेशबाट आउने पर्यटकहरूका लागि हामीले उहाँहरूले खोजेजस्तो सेवा दिन सकेनौं भने हामीकहाँ आइरहने ग्राहकहरू हराउँछन्, जसले जति खर्च गर्नुहुन्छ, त्यो अनुसारको सेवा हामीले दिनैपर्छ, त्यसलै हामीले एकदमै कम्पिटेटिभ भएर काम गर्नुपर्छ, अहिले सबै मात्रामा कामदार पनि आइरहनुभएको छैन, ठूला होटलहरूको पनि लगानी बढेर गएको देखिन्छ, बिजनेस छैन, एक, दुइटा विजनेस हुँदा पनि उसले घटाघट गर्ने अवस्था जस्तो देखिएको छ, अहिले सस्तोमा गरेर भए पनि केही टिक्न सकिन्छ कि भन्ने हिसाबले पनि मान्छे हेरिरहेका छन्, यो विषम परिस्थिति हो, हामीले बजार बढ्ने काम गर्नुपर्यो, सरकारले घोषणा गरेको कुरा पर्यटकलाई १० दिनको पर्यटन कागज भनेको छ, यसको कार्यविधि बनेको छैन, यो बनाएर तत्काल निर्णय गर्नुपर्यो, त्यस्तै विदेशी पर्यटकलाई महिना दिनको फ्री भिसा भनेको छ, यसको पनि कार्यविधि अहिलेसम्म बनेको छैन, अक्टोबर, नोभेम्बरमा नेपाल आउन चाहने पर्यटकहरू आधाले क्यान्सिल गरिसके, किनभने हामीसँग आजको दिनसम्म अन अराइभल भिसा छैन, भिसा सहज बनाउने अवस्था छैन, धेरै मानिसहरू आउन खोज्नुभएको थियो, माउन्टेन ट्रेकिङको लागि नेपाल प्रख्यात भएकोले आउन चाहेका थिए, अहिले भ्याक्सिन लगाएका मानिसहरू हाम्रोमा आउने र हाम्रो कर्मचारी पनि भ्याक्सिन लगाइसकेको हुनाले आत्मविश्वास बढेको छ, यसलाई मध्यनजर गरेर सरकारले सक्दो चाँडो अन अराइभल भिसा, क्वारेन्टिनका कुराहरू हटाउने, भारत र चीनका सीमा नाकाहरू खोलिदिनुपर्यो, अरु सबै देशले खोलिसके, हामी धेरैपछि परेका छौं, सरकारले तत्काल यसमा निर्णय गरोस्, सिसिएमसीमा पनि हामीले यी कुरा राखिसकेका छौं, सिसिएमसीले पनि भनिसकेको भनिएको छ, हामी सरकारको निर्णयको पर्खाइमा छौं।’
होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर विस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि विस्तारै खुल्दै जाने बताए। उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरू आउने कुरामा आशावादी रहेको बताए।
होटल पबेराका सञ्चालक राधेश्याम थापाले भने, ‘यो विजनेस भनेको लगानी गर्ने बित्तिकै तुरून्तै फाइदा हुने विजनेस त पक्कै पनि होइन, समयले यसलाई असर गरेको छ, विस्तारै केही होला भन्ने आश छ, नेपाल एकदमै सुन्दर मुलुक छ, कि पर्यटकले पनि स्वीट्जरल्याण्ड बिर्साउने देश भन्ने गरेका छन्, विस्तारै सबै खुला भएपछि राम्रो हुनेमा आशावादी छु।’