नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती राजदूतावासले सहयोग गर्ने भएको छ।
नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो।
नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने भन्दै बेलायती लगानीकर्ता नेपाल ल्याउन पहल गर्ने बताए।
‘नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने।
राजदूत पिलोटले आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतिपूर्ण हुने बताए। कोभिड – १९ को नकारात्मक प्रभाव आम जीवन र उद्योग व्यवसायमा परेको भन्दै उनले मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे।
भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको भन्दै जनशक्ति विकास आजको आवश्यकता रहेको बताए।
नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल –स्वदेशी अभियान सुरुवात गरेको अध्यक्ष अग्रवालले बताए।
अध्यक्ष अग्रवालले परिसंघले स्टार्ट अप प्रवर्द्धनका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको बताउँदै साना व्यवसायलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए।