नेपाल वायुसेवा संचालक संघले त्रिभुवन विमानस्थलको आन्तरिक उडाउनमा पूर्वाधार बढाउन नागरिक उड्ययन प्राधिकरणलाई आग्रह गरेको छ।
कोरोना महामारीपछि आन्तरिक उडानमा आएको नयाँ व्यवस्था तथा संक्रमणरहित उडानका कारण हजारौंले यात्रा गर्ने गरेको औंल्याउँदै संघले आउँदा दिनहरुमा यो संख्या अझ बढ्ने जनाएको छ।
बढ्दो यात्रु संख्याको अनुपातमा त्रिभुवन विमानस्थल आन्तरिक तर्फको पूर्वाधार तथा व्यवस्थापनमा कमजोरी देखिएको संघको भनाइ छ।
सुरक्षासम्बन्धी पूर्वाधारको कमी र सुरक्षा चेकइन एरियामा एक्सरे मेशिन पर्याप्त नभएको र भएका पनि ज्यादै पुरानो रहेकाले नयाँ मेसिन थप्न संघले प्राधिकरणलाई आग्रह गरेको छ।
हरेक दिन सुरक्षा जाँच पास बढ्नुका साथै नेपाल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्ड पूर्ण रुपमा परिपालना हुन नसकेको संघले जनाएको छ।
सुरक्षा जाँचका लागि एक डेढ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेकोले यात्रुहरुलाई धेरै असहजता भएको संघको भनाइ छ।वायुसेवाहरुको उडान पनि घण्टौं ढिलो हुने गरेको स्मरण गर्दै संघले विमानस्थलमा कार्यरत वायुसेवाका कर्मचारी, प्राधिकरणका कर्मचारी र प्रहरीहरुले भ्याउने अवस्था नरहेको उल्लेख गरेको छ।
यसले कर्मचारी थकित र निरुत्साहित भएकाले तत्काल जनशक्ति थप्न पनि आग्रह गरिएको छ। अपुग सुरक्षा जनशक्ति थप्ने, प्रहरीको दरबन्दी बढाउन नसकेको खण्डमा गैर प्रहरी जनशक्ति थप्न आग्रह गरिएको छ।
समस्याको समाधान नगरेमा दसैं, तिहारजस्ता पर्वमा यात्रुको चाप बढ्न गई गम्भीर स्थिति आउन सक्ने संघले चेतावनी दिएको छ।
चेकइन गरिसकेपछि हाते ब्याग र शरीर जाँच गर्ने ठाउँको भित्ता फोडेर दुईवटा गेटको सट्टा चारवटा बनाउन संघले आग्रह गरेको छ।
अति पुराना प्रविधिको एक्सरे यन्त्रहरुलाई विस्थापित गरी नविनतम प्रविधिको यन्त्रहरु जडान, जुत्ता र बेल्ट खोल्नु पर्ने व्यवस्था हटाउन संघले माग गरेको छ। सबै एक्सरे यन्त्रहरु सधै सुचारु राख्न पनि संघले आग्रह गरेको छ।