खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले हिन्दु नेपालीहरूको महान चाड दसैं-तिहारलाई लक्षित गरी खसी-बोका काठमाडौं पठाउने भएको छ।
कम्पनीले यो वर्ष झन्डै एक हजार खसी-बोका पठाउने तयारी गरेको छ।
शाखा कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख नकुल चौधरीले यो वर्षको लागि मौखिक रूपमा एक हजार र लिखित रूपमा ६ सय वटा खसी-बोका पठाउन लिखित रूपमा पत्राचार भएको जानकारी दिए।
‘हामीलाई यो दसैंको लागि एक हजार खसी-बोका पठाउनु भन्ने मौखिक निर्देशन आएको भए पनि हालसम्म छ सयको लागि मात्रै पत्राचार भएको छ,’ चौधरीले भने, ‘छ सयमा थपेर एक हजार पुर्याउन सक्छ।’
कम्पनीले गत वर्ष (२०७७) को दसैंमा आठ सय एक वटा खसी-बोका काठमाडौं पठाएको रेकर्ड छ।
दाङको तुलसीपुरस्थित कार्यालयबाट माग भए बमोजिम विगत केही वर्ष अगाडिदेखि ठूला चाडपर्वको समयमा खसी-बोका काठमाडौं पठाउँदै आएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले २०७१ सालमा चार सय, २०७२ सालमा पाँच सय, २०७३ मा चार सय, २०७४ मा चार सय तीन खसी बोका दाङमा खरिद गरी काठमाडौं पठाएको तथ्यांकमा उल्लेख छ। तर, २०७५ मा भने ढुवानीको व्यवस्था नभएको हुँदा खसी बोका माग भए पनि काठमाडौं पठाउन नसकिएको निमित्त प्रमुख चौधरीले सेतोपाटीलाई बताए।
त्यस्तै, २०७६ मा कम्पनीले दाङबाट छ सय खसी बोका खरिद गरी काठमाडौं पठाएको चौधरीले बताए।
दसैं, तिहारजस्ता चाडपर्वमा अत्यधिक मासुको माग हुने हुँदा शाखा कार्यालय तुलसीपुरले आम उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गरी स्वस्थकर खसी बोका किसानबाट खरिद गरी विगत केही वर्षयता राजधानी पठाउने क्रम जारी राखेको चौधरीले बताए।
गत वर्ष दाङमा किसानबाट ज्यूँदो बोका १८ केजी भन्दामाथिको प्रतिकेजी पाँच सयका दरले कम्पनीले खरिद गरेको थियो। त्यस्तै, खसी २० देखि २५ केजीको पाँच सय ३५ र त्योभन्दा माथिकोलाई प्रतिकेजी पाँच सय ५० ज्यूँदो प्रति केजीमा खरिद मूल्य निर्धारण गरिएको थियो।
यो वर्षको लागि बिहीकार ज्यूँदो खसी बोकाको मूल्य निर्धारण गर्न लागिएको निमत्ति प्रमुख चौधरीले जानकारी दिए।
‘प्रमुख जिल्ला अधिकारीसहित हामी बिहीबार बैठक बसेर ज्यूँदो खसी बोकाको मूल्यको मूल्य निर्धारण गर्दैछौं,’ चौधरीले भने, ‘त्यही हो गत वर्षभन्दा यो वर्ष प्रति केजी दशदेखि २० रूपैयाँसम्म मूल्य वृद्धि हुन सक्छ।’
बजारमा अनिमितता तथा कालोबजारी हुन नदिन तीन सदस्यीय खरिद समिति गठन गरिएको निमित्त प्रमुख चौधरीले जानकारी दिए।
उक्त समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, वरिष्ठ पशु चिकित्सक वेदबहादुर केसी र शाखा कार्यालय तुलसीपुरको निमित्त कार्यालय प्रमुख नकुल चौधरी सदस्य सचिव रहेका छन्।
यही समितिको बैठकले नै बिहीबार खसी बोकाको मूल्य निर्धारण गर्ने चौधरीले बताए।
असोज २०/२१ गतेसम्म दसैंका लागि आवश्यक खसी बोका खरिद गरी सक्ने र २२ गतेदेखि दैनिक दुई सयका दरले ती काठमाडौं पठाउन सुरू गरिने चौधरीले जानकारी दिए।
तुलसीपुर क्षेत्रबाट दुई सय वटा र देउखुरी क्षेत्रबाट थप चार सय खसी-बोका खरिद गर्ने गरी स्थानीय व्यवसायीलाई जिम्मा दिइसकेको चौधरीले बताए।
तुलसीपुरबाट रुकुम, जाजरकोट र डोल्पामा चामल पठाउने तयारी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले हिन्दु नेपालीहरूको महान चाड दसैं-तिहारलाई लक्षित गरी मुलुकका चार जिल्लामा यो वर्ष खाद्यान्न (चामल) पठाउने तयारी गरेको छ।
यी ठाउँमा जिरालगायत पाँच थरी चामल पठाउने तयारी गरिएको निमित्त कार्यालय प्रमुख चौधरीले जानकारी दिए।
चौधरीका अनुसार डोल्पा जिल्लाको चार ठाउँ सदरमुकाम दुनैका लागि तीन हजार क्वीन्टल, झुपालका लागि एक हजार पाँच सय क्वीन्टल, सर्मीको लागि नौ सय क्वीन्टल र लिकुको लागि एक हजार क्वीन्टल चामल पठाउन लागिएको छ।
डोल्पाको चार ठाउँमा चामल पठाउने तयारी भए पनि अन्य सबै ठाउँको सम्झौता आइसकेको र लिकुको मात्रै आउन बाँकी रहेको उनले बताए।
‘सायद अबको दुई चार दिनमै सम्झौता पत्र आइसक्छ होला,’ चौधरीले भने ‘ त्यसपछि हामी धमाधम चामल पठाउन सुरू गर्नेछौं।’
त्यस्तै, जाजरकोट जिल्लाको लागि तुलसीपुरबाट दुई हजार क्वीन्टल चामल पठाउन लागिएको छ। रुकुम-पूर्वको शोभा गाउँमा एक हजार क्वीन्टल र रुकुम पश्चिमको मुसिकोटको लागि एक हजार पाँच सय क्वीन्टल चामल पठाइने निमित्त कार्यालय प्रमुख चौधरीले सेतोपाटीलाई जानकारी दिए।
चाडपर्वको समयमा मिठो मसिनो खाने परम्परा छ। पर्वहरूमा देश विदेशबाट मानिसहरू घर फर्किने गर्छन्। जसले गर्दा विकट पहाडी तथा हिमाली जिल्लामा खाद्यान्नको अभाव हुन नपाओस् भनेर खाद्यान्नले विगतका वर्षदेखि नै चामल पठाउँदै आएको छ।