कनेक्ट आइपिएसको मोबाइल एपमार्फत् निःशुल्क पैसा पठाउन मिल्ने भएको छ। कम्पनीले चाडवाडको अवसर पारेर असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म मोबाइलमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने जनाएको हो।
मोबाइलबाट गरिने फन्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना अघि सारिएको हो।
कनेक्ट आइपिएसको मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आइपिएस फन्ड ट्रान्स्फर तथा मोबाइल वालेटमा गरिने फन्ड लोड तोकिएको अवधिसम्म निःशुल्क हुने कम्पनीले बताएको छ।
यो योजनाले ट्रान्स्फरमा मोबाइल प्लेटफर्म प्रयोग थप वृद्धि हुने विश्वास कम्पनीले लिएको छ।
अन्य विभिन्न भुक्तानी एकै प्लेटफर्मबाट गर्न सकिने कनेक्ट आइपिएसले गत आर्थिक वर्षमा १३.६ खर्ब रूपैयाँ बराबरको एक करोड ८९ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट गरेको थियो।
चालु आर्थिक वर्ष (भदौ मसान्तसम्म) ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट गरिसकेको पनि कम्पनीले जानकारी दिएको छ। उक्त प्रणालीमा हाल ५४ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्।