प्रहरीले पर्साबाट चकलेट लोड भएको भारतीय ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ।
नक्कली प्रज्ञापन पत्र बनाएर सामान आयात गरेको आरोपमा प्रहरीले मंगलबार मध्यराति पर्सा-१६ स्थित सडकबाट भारतीय ट्रक बरामद गरेको हो।
एमपी०७एचबी १३६२ नम्बरको मालबाहक ट्रक र त्यसका चालक मध्य प्रदेश ग्वालियर बानमौर थाना वडा नम्बर १४ का ३३ वर्षीय जबर सिंहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
खनालका अनुसार उक्त ट्रकमा अम्बिक ह्याप्पी किड्स ब्राण्डका चकलेट थिए। तर, त्यसको प्रज्ञापन पत्र सुगर ललिपपको बनाइएको थियो। ‘ललिपपको नाममा कम मूल्यांकनको प्रज्ञापन पत्र बनाएर ल्याइएको सूचना आएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘भन्सार कर्मचारीको समेत मिलेमतो रहेको बुझिएको छ।’
भन्सार कर्मचारीबिना प्रज्ञापन पत्र सम्भव छैन। उक्त ट्रक राजश्व अनुसन्धान विभागले लागू गरेको मालवस्तु तथा सवारीसाधनको अनलाइन अनुगमन प्रणाली (भिसिटिएस) बिलबिनै जाँचपास भएको थियो।
भिसिटिएस बिलबिना नाकाबाट जाँचपास नदिने नियम विभागको छ। खनालका अनुसार सामान तथा ट्रकको ७३ लाख मूल्यांकन गरी राजश्व अनुसन्धान विभाग पथलैया बारामा बुझाइएको छ।
यता, रूपन्देही प्रहरीले विभिन्न स्थानबाट १० लाख ९० हजार ५ सय रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। प्रहरी चौकी कालिदह, नगर प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी देवेथुमुवा, प्रहरी चौकी मेउडिहवा लगायत स्थानबाट प्रहरीले सो मूल्य बराबरको सामान बरामद गरेको हो।