दसैं सुरू भएसँगै जहाज चढ्ने यात्रुको चाप बढेको छ। सामान्य अवस्थाको तुलनामा दोब्बरले चाप बढेको वायुसेवा कम्पनीहरूले बताएका छन्।
कोरोना महामारीको त्रास र सडकको दयनीय अवस्थाका कारण जहाज चढ्ने यात्रु संख्या बढेका हुनसक्ने वायुसेवा कम्पनीहरूको अनुमान छ।
दुई महिना अगाडिदेखि नै हवाइ यात्रुको चाप बढ्न थालेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन्।
दसैं सुरू भएयता बुद्धले देशका विभिन्न गन्तव्यमा दैनिक एक सय ४० बढी उडान भरिरहेको उनले जानकारी दिए।
कोभिड महामारीको जोखिमका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय सीमित उडानका लागि मात्रै अनुमति दिएको थियो। त्यसपछि केही समय बुद्ध एयरले दैनिक ३० देखि ४० वटा उडान भर्दै आएको थियो।
'अहिले हामीसँग जहाज पनि धेरै छन्। १५ वटा जहाजमार्फत हामी सेवा दिइरहेका छौं,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार यो वर्ष काठमाडौं आउने र जाने यात्रुको उत्तिकै चाप छ।
'अघिल्ला वर्षमा दसैंको समयमा टीकाको अघिल्लो दिनसम्म काठमाडौंबाट बाहिर जाने यात्रु मात्रै धेरै हुन्थे। विभिन्न गन्तव्यबाट काठमाडौं फर्किँदा जहाज रित्तै जस्तो हुन्थ्यो,' उनले भने।
बुद्धले काठमाडौं, पोखरा, भरतपुर तथा भैरहवाबाट देशका विभिन्न गन्तव्यमा सेवा दिँदै आएको छ।
गुण एयरलाइन्सले पनि यो दसैंमा हवाइ यात्रुको चाप निकै बढेको जानकारी दिएको छ।
'काठमाडौंबाट बाहिरिने यात्रुको चाप छ। बाटो तथा कोभिड त्रास अझै कायमै रहेका कारण पनि यात्रुको रोजाइमा हवाइयात्रा परेको हुनसक्छ,' गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले भने।
गुण एयरलाइन्सले तुम्लिङटार, भरतपुर र पोखरामा उडान भर्दै आएको थियो। दसैंको चापलाई मध्यनजर गर्दै भैरहवामा समेत उडान सुरू गरेको छ।
केही दिनमै विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज पनि उडान सुरू गर्ने उनले बताए।
श्री एयरलाइन्सले पनि आफ्ना सबै गन्तव्यमा यात्रुको चाप रहेको बताएको छ।
महामारीअघि सामान्य अवस्थाको जतिकै चाप रहेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ आगमन र प्रस्थान गरी दैनिक करिब दुई सय उडान भइरहेको जानकारी दिएको छ।
विमानस्थलका अनुसार शुक्रबार (आज) आन्तरिक आगमनतर्फ एक सय पाँच उडान तालिका तय गरेको छ। त्यस्तै प्रस्थानतर्फ ७८ उडान तालिका तय गरेको छ।
बुद्ध, यती, श्री, सूर्य, सिता, गुण, नेपाल, तारा लगायतले नियमित उडान भर्दै आएका छन्।
विमानस्थलका अनुसार लुक्ला, भरतपुर, पोखरा, भैरहवा, राजविराज, सिमरा, तुम्लिङटार, नेपालगन्ज, जनकपुर, विराटनगर, धनगढी लगायत स्थान जाने यात्रुको चाप छ।