विद्युतिय भुक्तानी प्रयोगको वृद्धि सँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्टआइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य बृद्धी भएको छ।
घटस्थापना (असोज २१) देखि एकादशी (असोज ३०) सम्ममा उक्त प्रणाली मार्फत ९.२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। उक्त कारोबार पछिल्लो वर्षको दसैंको तुलनामा ३१७ प्रतिशतले बृद्धी भएको हो।
हाल बैंक वित्तिय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाँड पर्वमा समेत विद्युतिय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ।
कनेक्टआइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाइल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन्। कनेक्टआइपीएसको एप र वेबमा आफ्नो खाता एकपल्ट लिन्क गर्नु पर्ने हुन्छ।
मोबाइल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधैँ गर्न सकिने व्यवस्था रहेको छ।
हाल कनेक्टआइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार निशुल्क गरिएको छ।
यो असोज २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ।