संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन्।
मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए।
नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुइटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे।
मन्त्री आलेले आइकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए। त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको उनले स्पष्ट पारे।
अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो।
उनले भने, ‘आफ्नो नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एयरलाइन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाइन्सको ग्राउन्ड ल्यान्डिङ चाहिँ कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन। म त्यसमा छैन। म त्यो पनि विश्वास दिलाउन चाहन्छु र म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाइन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाएँ। त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीहरूसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो। उहाँहरूका माग के थियो भने हामीलाई अध्यक्ष चाहियो। अध्यक्ष छिटो दिनुस् भन्नुभयो। हिजो क्याबिनेटबाट हामीले अध्यक्ष नियुक्त गरेका छौं। युवराज अधिकारी अध्यक्ष हुनुहुन्छ। अब छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका २ वटा जहाज पनि सञ्चालनमा ल्याउनेछौं। नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक काम गरेर अघि बढ्नेछौं।’
मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए। कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले बताए।