ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन्।
मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थ मन्त्रीलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरण सहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने स्पष्ट पारिन्।
शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुकभित्रै पर्याप्त मात्रामा रहेको बताइन्।
मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिदबाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराइन्।
उनले भनिन्, ‘विद्युतमा हामी आत्मनिर्भर भएका छौं र देशको सबै क्षेत्रमा चाहे घरायसी होस्, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस्। त्यसलाई दिने ऊर्जा हामीसँग छ। दोस्रो हाम्रो ठूलो व्यापार घाटा आयाजित पेट्रोलियम पदार्थको कारणले भएको छ। २ खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ। ४० अर्बभन्दा बढी एलपी ग्याँस आयात हुन्छ। यसलाई केवल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो। त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउन सबैले विद्युत सवारी साधनको प्रयोग गरौं र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं। यो आफैंमा सस्तो छ।’
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।
उनले विद्युतीय सवारी साधन संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनहरूको व्यवस्था हुने बताए।
र्यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्ड प्रदर्शन गरिएका थिए।