वायुसेवा संचालक संघले हवाई इन्धनको मुल्यवृद्धि अमान्य रहेको बताएको छ।
आइतबार संघले नेपाल आयल निगम लिमिटेडलाई पत्र पठाउँदै हवाई इन्धनको मुल्यवृद्धि अस्वभाविक र अवान्छनिय मात्र नभई अमान्य समेत रहेको जनाएको हो।
कोरोना भाइरसको महामारीका कारण बन्द भएको उडाले दिनहुँ करोडौं आम्दानी गुमाइरहेको र आफ्नो लयमा फर्कने प्रयत्न गरिरहेको बेलामा अप्रत्याशित रूपमा प्रति लिटर १० रुपैयाँका दरको मुल्यवृद्धिले वायुसेवाहरूलाई अत्यधिक व्ययभार पर्ने संघको भनाई छ।
'यस प्रकारको निर्णयले आन्तरिक वायुसेवाहरूलाई अत्यधिक व्ययभार पर्न जाने भएको हुँदा आगामी दिनहरूमा यस्ता प्रकारको निर्णय गर्नु अगावै सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक छलफल तथा निष्कर्षबाट गर्नुहुन समेत यो संघ अनुरोध गर्दछ,' पत्रमा उल्लेख छ।
बजेट वक्तव्यले आन्तरिक वायुसेवालाई राहत दिने घोषणा गरेपनि निगमले बढाएको मुल्यवृद्धिले आफूहरूलाई राहत नपुग्ने संघले जनायो।
त्यसैले यस प्रकारको मुल्यवृद्धि अस्वभाविक र अवान्छनिय मात्र होइन हामी सबैलाई अमान्य रहेको पत्रमा उल्लेख छ।