नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्।
बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन्।
उनले अबको एक महिनामा केलिब्रेसन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए।
महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेसन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताए।
उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए।
‘गौतम बुद्ध विमानस्थलको टेक्निकल स्टाटसमा अलमस्ट प्रक्रिया पूरा गरिसकेका छौं, तुरून्त गर्नुपर्ने केलिब्रेसन फ्लाइट, अबको एक महिनाभित्र हामीले केलिब्रेसन फ्लाइट कम्प्लिट गर्छौं, त्यसको तीन महिनाभित्र टेस्ट फ्लाइट, हाम्रो आन्तरिक गृहकार्य, गरेर र त्यो बीचमा हामीले अन्तर्राष्ट्रिय वायुसेवालाई तपाईंहरू इन्ट्रेस्ट्रिङ हुनुहुन्छ भने रेडी फर अप्रेसन भनेर हामी आह्वान गर्दछौं', उनले भने।
'जति नै ढिलो गर्यौं भने पनि अबको ५ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ, कति वटा एयरलाइन्स आउँछ त्यो पछिको कुरा हो तर वि विल बी रेडी। कुशीनगर विमानस्थल र हाम्रोमा दाँज्न मिल्दैन', महानिर्देशक क्षेत्रीले थप भने, 'उनीहरूको आफ्नै स्रोत साधन छ, समस्या छैन। आन्तरिक कलहमा अल्झिनु परेन। हाम्रो केसमा नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड-१९, केलिब्रेसन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भयो।'
अब सबै प्रक्रिया लगभग कम्प्लिट भएको उनले बताए।
'थाइल्याण्डले केही दिनअघि एउटा चिठी पठाएको छ, कोरोनाको कारण आउन सकेनौं, अरूसँग गर्दा पनि हुन्छ भनेको छ हामीले बोर्डमा राखेका छौं, अहिले एरो थाइले पनि हामी पूर्व सहमतिअनुसार नै काम गर्छौं भनेको छ,’ उनले भने।
महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल इन्फ्रास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको बताए।
उनले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताए।
महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (इयु) ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट (कालोसूची) मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताए।
उनले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन योग्य बनाउने बताए।
महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिसिआर टेस्ट गर्दा लाग्ने शुल्क २ हजारबाट १ हजार २ सयमा झारेको बताए।
महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरे पनि काम नरोकिएको बताए।