भुकम्पले भत्किएको गोरखा र नुवाकोटका ५० हजार घरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। भारत सरकारको आर्थिक सहयोग र युएनडिपी र युनोप्सको प्राविधिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो।
भारतीय राजदुतावासले काठमाडौंमा एक कार्यक्रम गरि पूनर्निर्माण सम्पन्न भएको जानकारी दिएको हो।
युनोप्सले नुवाकोटको विदुर र बेलकोटगढी दुई नगरपालिका र ककनी, मेघाङ्ग तारकेश्वर, सुर्यघारी, दुप्चेश्वर, किस्पाङ, लिखु र ताडी गरी ८ गाउँपालिकाका २३ हजार ८८ घरको पुनर्निर्माण गरेको छ।
त्यस्तै, युएनडिपीले पालुङटार र गोर्खा गरी दुई नगरपालीका र दार्चे, आरूघाट, अजिरकोट, सिरानचोक, पालुङ, सहिद लखन र गण्डकी गरी ६ वटा नगरपालिकाका २६ हजार ९ सय १२ घरहरूको पुनर्निर्माण गरेको छ।
आगामी दिनमा पनि नेपालसँग सहकार्य गरिने भारतीय राजदुत उपप्रमुख नाम्बा सि खाम्पाले बताइन्।
‘यो अन्तिम होइन, हामी पछि पनि सहकार्य गर्दै जाने छौं,’ उनले भनिन्।
भारतीय सरकार, दुई राष्ट्र संघीय नियोगकै सहयोगले पुर्नर्निर्माका काम सफल पार्न सकिएको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका चिफ एक्जुकेटिभ अनिल पोखरेलले धन्यवाद व्यक्त गरे।
भूकम्पपछि २०७२ असारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था र सम्पदाहरुको पुनर्निर्माणमा २५ करोड अमेरिकी डलर अनुदान सहयोग र ७५ करोड डलर ऋण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
सोही अनुरूप नुवाकोट र गोरखामा ५० हजार आवास निर्माणमा सहयोग गर्न २०१८ मार्चमा सम्झौता भएको थियो।