१८ औं हस्तकला व्यापार मेला तथा १६ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा हुने भएको छ।
नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको होटल हायात रिजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रवर्द्धन तथा निर्यात व्यापारमा समेत टेवा पुर्याउने उद्देश्यले मेला गर्न लागेको बताएको हो।
मेलामा १ सय २० भन्दा बढी व्यापारिक स्टल राखिने छन्।
यस्तै, निर्यातजन्य विभिन्न ३६ विधाका हस्तकला वस्तुको प्रदर्शनी पनि हुनेछ। करिब ३० हजारभन्दा बढीलाई मेला अवलोकनको निःशुल्क प्रवेश पास वितरण गरिने पनि आयोजनकले बताएको छ।
मेला अवलोकन गर्न एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रदर्शनीमा हस्तकला वस्तुहरू निर्यात गर्ने वर्षको उत्कृष्ट उद्यमी सम्मान तथा आर्टिस् अफ दि एयर सम्मान प्रदान गर्ने महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए।
साथै हस्तकलाका विभिन्न विधामा संलग्न ७० वर्ष नाघेका १० जना जेष्ठ नागरिक तथा वरिष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए।
यस्तै, परम्परागत तथा समसामयिक हस्तकला विधामा कला प्रतियोगिता हुने पनि उपाध्यक्ष रवीन्द्र शाक्यले बताए।
हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित पुरस्कार प्रदान गरिने छ।
यस्तै, दोस्रो हुनलाई ३० जार र तेस्रो हुनेलाई २० हजार नगदसहित पुरस्कार प्रदान गरिने छ। मेला तीन दिनसम्म चल्ने छ। मेलामा झण्डै तीनदेखि पाँच करोड रुपैयाँसम्म कारोबार हुने महासंघले अनुमान गरेको छ।