ग्लोबल कलेज इन्टरनेशनलले तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। कलेजले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल इन्स्टीच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य मिडिया र करियर पार्टनरसँगको सहकार्यमा यही डिसेम्बर ११ मा सम्मेलन आयोजना गर्न लागेको हो।
प्रिन्सिपल ठगुन्नाले तेश्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम तयारीबारे आवश्यक जानकारी गराउने उद्देश्यले प्रेस मिट कार्यक्रम गरेको बताए। डा. ठगुन्नाले ‘विश्वव्यापी प्रवृत्ति र व्यवस्थापनमा अनुसन्धान’ बारेमा सम्मेलन केन्द्रीत रहने जानकारी गराए।
सम्मेलनमा व्यवस्थापनका ७ वटा विभिन्न विषयवस्तु र धाराहरुसँग सम्बन्धित नयाँ बहस, छलफल र प्रवचन हुने पनि उनले जानकारी दिए।
त्यसैगरी, तेस्रो ग्लोबल इन्टरनेशनल कन्फरेन्सका संयोजक तथा ग्लोबल कलेज इन्टरनेशनलका आईक्यूएसी निर्देशक डा. देवराज पनेरुले तेस्रो जिआईसीले ग्लोबल कलेज इन्टरनेशनलको भिजन क्याप्चर गरेको र यसले अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट पाठ्यक्रमलाई कर्पोरेटसँग जोड्ने बताए।
डा. देवराज पनेरुले ११ डिसेम्बर २०२१ मा भर्चुअल मोडमा तेस्रो विश्वव्यापी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आमन्त्रित र्राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूका एक हजार बढी प्रतिनिधि, अनुसन्धानकर्ता, संकाय, विद्यार्थी, कर्पोरेट नेताहरू, विशेषज्ञहरू र वक्ताहरू रहने बताए। सम्मेलन कार्यक्रम ग्लोबल कलेज इन्टरनेशनलका अध्यक्ष समेत रहेका प्रा. पुष्कर बज्राचारीको अध्यक्षतामा हुनेछ।
कलेजका प्रिन्सिपल करण सिंह ठगुन्नाले पत्रकार सम्मेलनमाझ उठेका जिज्ञासा उपर प्रतिकृया दिदैँ ग्लोबल इन्टरनेशनल कलेजले समय सापेक्ष रुपमा आफ्ना विद्यार्थी, नेपाली समाज र सिंगो राष्ट्रलाई व्यवस्थापन, वित्त, अनुसन्धान आदीबारे नविनतम ज्ञान बाँड्न सफल हुने विश्वास व्यक्त गरेका थिए।