अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैध रूपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडिएमएस प्रणाली लागू गर्ने बताए।
अर्थमन्त्री शर्माले एमडिएमएस प्रणाली लागु भएपछि विभिन्न देशबाट अवैध रूपमा नेपालमा आयात मोबाइल फोन बन्द हुने बताए।
उनले अवैध रूपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए।
सरकार आफ्नो दायित्वबाट पछि नहट्ने उनले बताए।
उनले भने,‘अवैध रूपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत् हिजो मात्रै थाहा पाएँ। यो विषयमा थाहा पाउनेबितिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु। तर, विदेशबाट वैधानिक रूपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ। नेपालको अर्थतन्त्र रेमिट्यान्समार्फत चलाइरहेको छ। नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन्। यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेहरूलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरूमाथि अन्याय हुन्छ।’
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रूपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए।
उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने उनले बताए। अब मोबाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे।
उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए।
अर्थमन्त्री शर्माले भने,‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ। नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ। अब व्यवसायीले आयात पनि गरेर पनि बेच्ने र उत्पादनमा पनि लगानीको सुरूआत गर्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले पनि आयातमात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक छ। त्यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्नुपर्छ। सबै व्यवसायी क्षेत्र उत्पादनको क्षेत्रमा लाग्दा त्यहीबाट अर्थतन्त्र सुधार हुनसक्छ।’
अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमता वृद्धि गर्नुपर्ने पनि बताए।