स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा उक्त महोत्सव हुने भएको छ।
स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेको स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान/तामेकोट समिट महोत्सव आयोजना गर्न लागिएको हो।
करिब साढे सातसय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीनतले तामेकोट दरबार रहेको इतिहास थियो।
ऐतिहासिक दरबार पुनर्निर्माण फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए।
करिब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको फाउन्डेसनले जानकारी दिएको छ।