अपांगता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले अशक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै फोर ह्विलर मोबिलिटी ह्विलचेयर बनाएर सार्वजनिक गरेको छ।
विद्युतबाट चल्ने ह्विलचेयरमा एउटा गाडीमा हुने जस्तै सम्पूर्ण सुविधा छ। विद्युतीय माध्यमबाट चल्ने यो गाडी फूल चार्जमा ३५ देखि ४० किलोमिटरसम्म गुड्नसक्छ।
त्यस्तै, ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्छ।
राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा ह्विलचेयर निर्माण गरिएको र सोको भविष्यमा बजारीकरण आविष्कार केन्द्रले गर्ने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
ह्विलचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ।
प्रयोगकर्ताले सहजै चलाउन सक्ने गरी यसको डिजाइन गरिएको छ। यस्तै यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ।
सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले ह्विलचेयर बनाएको हो।
विद्यार्थ निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन्।
त्यस्तै, यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वत: प्रयोगकर्ताको लोकेसन पठाउँछ।
इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वत: इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ।
अशक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रूपले हिँड्डुल गर्न पाउन भन्ने उद्देश्यसहित यो गाडीको निर्माण गरिएको गौतमले बताए।
यस गाडीले अशक्त व्यक्तिहरूलाई हिँड्डुल गर्न सहजतासँगै उनीहरूको यात्राको सुरक्षा पनि प्रत्याभूत गराएको उनको भनाइ छ।