भूकम्पले क्षतिग्रस्त काठमाडौँको हनुमानढोका दरवार क्षेत्रको काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको छ।
पुनर्निर्माण सकिएसँगै छिट्टै यसको औपचारिक उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।
पुनर्निर्माण समितिका सचिव गौतम डंगोलकाअनुसार ०७८ कात्तिक मसान्तसम्ममा पुनर्निर्माण लागि ल्याइएका ७६ हजार ११ वटा ठूलो माः अप्पा (काठको नाम) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन्।
‘यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो) मध्ये ८३ हजार ८ सय र २२४ वटा फःअप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ’ उनले भने।
१७ हजार २६० तेलिया इटामध्ये १४ हजार २६० इट्टाको प्रयोग भइसकेको छ। यसैगरी ९१ हजार २५० वटा झिँगटीमध्ये ७४ हजार ४५० झिँगटीको प्रयोग भइसकेको छ। २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन्।
त्यस्तै, ९ हजार २२४.१३ क्युविक फिट काठ प्राप्त भएको छ। जसमध्ये ८ हजार ३४४.६५ क्युविक फिट काठ प्रयोग भइसकेको छ। पुरानामध्ये ४९३.८ क्युविक फिट काठ प्रयोगमा ल्याइएको छ।
काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको थियो।
पुनर्निर्माण हालसम्म मसान्तसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९ सय ३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ।
बैङ्क ब्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो।
यसअघि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो।
त्यससँगै पुनर्निर्माणका लागि नगर कार्यपालिकाको सोही वर्षको जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समितिमार्पmत काम अघि बढाउने निर्णय गरेको थियो।
०७५ को वैशाखबाट थालिएको कामका लागि पहिलो किस्तामा किस्तामा ०७५ जेठ २९ गते ५० लाख रुपैयाँ, त्यसपछि ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ प्रदान गरेको हो।
भूकम्पले पूर्णरुपमा क्षति पुगेको सातौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो। त्यसपछि साउन १ बाट पुनर्निर्माण थालिएको थियो।