काठमाडौंको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले आयोजना गरेको 'नेपाल आइओटी च्यालेन्ज'मा आइओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजना प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन्।
नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा भइरहेको कलेज प्रमुख प्रमोद पौडेलले बताए।
विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन्। दर्ता भएका समूहहरूलाई कलेजले गरेको १० दिने नि:शुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो।
प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आइओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो।
यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टमध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए।
पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन्।
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा उक्त प्रदर्शन गरेको हो।
तस्वीरहरू: