काठमाडौंको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सञ्चालन गरेको 'नेपाल आइओटी च्यालेन्ज' सम्पन्न भएको छ।
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आइओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी सम्पन्न भएको हो।
कार्यक्रममा अवलोकनकर्ताको भोटिङको आधारमा 'लुसि' टिम प्रथम हुन सफल भएको छ।
उक्त टिमले खोलामा आउने बाढीको पूर्व सूचना दिने 'फ्लोड प्रेडिक्सन सिस्टम' निर्माण गरेको थियो।
भोटकै आधारमा टिम 'दी डक्टर्स फोर्टीसिक्स' दोस्रो भएको छ। उक्त टिमले बाइक दुर्घटनाको सूचना सम्बन्धित व्यक्तिलाई पुर्याउने 'एक्सिडेन्ट् अलर्ट भेइकल' निर्माण गरेको हो।
त्यस्तै, टिम 'म्याट्रिक्स' तेस्रो भएको छ। औषधि पसलको सम्भावना नभएका ठाउँमा पनि सजिलै राख्ने सकिने र आपत पर्दा आवश्यक औषधि निकाल्न सकिले 'इमर्जेन्सी मेडिकल भेन्डिङ मेसिन'ले म्याट्रिक्स टिमलाई पुरस्कार दिलाएको हो।
विजेताले क्रमशः पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए।
प्रदर्शनीमा ड्रोन, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायतका विद्यार्थीले बनाएका परियोजना राखिएको थियो।