नेपाल उद्योग परिसंघले ‘मेकइन नेपाल– स्वदेशी’ अभियानको एप र वेबसाइट सार्वजनिक गरेको छ।
नेपालमा औद्योगिककरण विस्तार तथा रोजगारी सिर्जना गर्न एप र वेबसाइट सार्वजनिक गरिएको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए।
एप र वेबसाइटले धेरैभन्दा धेरै उद्योगीलाई यो अभियानमा जोड्न सघाउ पुर्याउने उनको भनाइ छ।
अग्रवालका अनुसार कसरी अभियानमा जोड्न सकिन्छ भन्ने कुराको जानकारी एप र वेबसाइटमा दिइएको छ। साथै, उपभोक्ताले पनि मेक इन नेपाल–स्वदेशी अभियानमा कुन कुन उद्योग जोगिएका छन् त्यसको जानकारी लिन सक्नेछन्।
मेक इन नेपालले वार्षिक डेढलाख रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको छ। साथै, यो अभियानले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने परिसंघले विश्वास लिएको छ।
परिसंघका अनुसार हालसम्म यो अभियानमा ४० वटा उद्योग जोडिएका छन्। सो अभियानमा वार्षिक एक हजार पुर्याउने संघको लक्ष्य छ।
नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवर्द्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्नका लागि यो अभियानको सुरुवात गरिएको हो।
२०७७ फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभियानको शुभारम्भ गरेका थिए।