काठमाडौं महानगरपालिकाले यही मंसिर २७ गतेदेखि तीन दिनसम्म २७ औँ महानगर दिवस मनाउने तयारी गरेको छ।
महानगर दिवसका अवसरमा सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप दिने भएको छ। साथै स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रम गरिने महानगरले जनाएको छ।
मंसिर २० गते महानगरका प्रमुख एवं २७ औँ महानगर दिवस मुल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेका हुन्।
यस अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनेछ। सहभागी हुनेहरुलाई निःशुल्क १० वटा मास्क दिइनेछ। यसैगरी १० वटा वुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिनेछ। विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता समेत हुनेछ।
‘कोभिड संक्रमणको दर हेरेर कार्यक्रम हेरफेर हुन सक्छन्। अवस्था सामान्य रहिरह्यो भने दिवसका कार्यक्रमलाई महानगरबासीकाबीचमा चल्नेछन्, बैठकका अध्यक्ष शाक्यले भने, ‘महानगर दिवस नागरिकले अपनत्व बोध गर्ने खालको बनाइनेछन्। नागरिककाबीचमा बसेर दिवस मनाउने प्रबन्ध गरिनेछ।’
कार्यक्रमको अन्तिम दिन २९ गते बसन्तपुरमा मुल समारोह आयोजना हुनेछ। त्यस दिन पम्परागत बाजा गुरु, कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार, कर्मचारीलाई पदक तथा अन्य क्षेत्रगत पुरस्कारहरु वितरण हुने बताइएको छ।