स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओ नेपालले 'पठाओ जीवन रक्षा' कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरूलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ।
करिब तीन सय जना क्याप्टेनलाई प्राथमिक उपचार र घाइते अथवा बिरामीलाई अस्पताल लैजाँदा अपनाउनुपर्ने सावधानीको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन्।
क्याप्टेनलाई जीवन रक्षकका रूपमा स्वास्थ्यका कुरामा अझ संवेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ।
'काठमाडौं उपत्यकामा अस्पताल पुग्नको लागि यात्रुहरूको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ। फेरि दुर्घटनालगायत कतिपय अवस्थामा बिरामीलाई गाडीमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुन सक्छ,' हमालले भनिन्, ‘हामीसँग भएका स्वतन्त्र साझेदारमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ। यसैले क्याप्टेनलाई स्वास्थ्य संवेदनशीलताप्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो।'
तालिममा बिरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेश गरिएको बताइएको छ।
अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रिवी शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलले तालिम सञ्चालन गरेको हो।
पठाओ नेपालको उद्देश्य भनेको सडकमा प्राथमिक उपचार सहयोगीको उपलब्धता बढाउनु भएको हमाल बताउँछिन्।