बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान तय गरिएको उडान नम्बर यु फोर–८१०, ९ एन–एएनआई जहाजमा प्राविधिक समस्या देखिएपछि अर्को जहाजबाटै यात्रु ल्याउने तयारी गरिसकेको बुद्ध एयरले बताएको छ।
यात्रुले भने सोही जहाजमार्फत आफूहरुलाई ल्याउन लागेको भन्दै नचेढ्ने अडान राखेका थिए।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या देखिएकाले यसअघिनै अर्को जहाजबाट यात्रु काठमाडौं ल्याउन तयारी गरिसकेको थियो।
‘जहाजमा खराबी आएको जानकारी हुँदाहुँदै कम्पनीले हेलचेक्र्याइँ गर्दैन’, कर्णले भने, ‘हामी पनि सचेत छौं, समस्या आउँदा आउँदै उडाउँदैनौं।’
बेलुका नौ बजेर पाँच मिनेटका लागि उडान तय गरिएको उक्त जहाजमा ७० जना यात्रु थिए। ती यात्रुलाई बुद्ध एयरकै अर्को ९ एन–एजेएस जहाजमार्फत काठमाडौं ल्याइएको एयरले जनाएको छ।
राती ११ बजेर २३ मिनेटमा उडेको उक्त जहाज ११ बजेर ५० मिनेटमा काठमाडौं ल्याण्ड भएको थियो।
समस्या देखिएको जहाज पनि ९ एन एजेएस जहाजमार्फत काठमाडौंबाट गएको प्राविधिक टोलिले आधाघण्टामै मर्मत गरेको कर्णले जानकारी दिए।
उनका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या थियो।